एसपी रिपोर्टर
जनकपुरधाम, साउन १७ : महिला जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धिका लागि अभिमुखीकरण तालिम दिइदै छ । जनकपुरधाममा मंगलबारबाट माण्डवी नामक संस्थाको आयोजनमा शी लिड्स महिला नेतृत्व कार्यक्रमअन्तर्गत क्षमता अभिवृद्धि तालिम सुरु भएको हो । तालिममा जनकपुरधामका ५१ महिला जनप्रतिनिधिहरू सहभागी भएका छन् । महिला जनप्रतिनिधिहरुलाई नैतिकवान नेतृत्व, समस्या विश्लेषण, तथ्यांक संकलन र दुश्प्रचार अभिव्यक्ति अन्त्य गर्ने विषयमा तालिम दिइँदैछ । तालिम प्राप्त गरेपछि उनीहरूको नेतृत्व क्षमतामा विकास हुने, स्थानीय तहमा पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वास लिइएको छ ।
तालिममा सहभागी महिला जनप्रतिनिधिहरूले पनि यो अभिमुखीकरण तालिमबाट आफूहरूको नेतृत्व क्षमताको विकासमा सहयोग पुग्ने बताए । आफूहरूलाई जनताका लागि काम गर्न पनि सहज हुने उनीहरूको भनाइ छ । शी लिड्स महिला नेतृत्व कार्यक्रम धनुषा र महोत्तरीमा सञ्चालनमा रहेको छ । जसमा कुल २७२ महिला जनप्रतिनिधिलाई अभिमुखीकरण तालिम दिइने बताइएको छ । तालिममा सम्झना वर्मा र वेद घिमिरेले प्रशिक्षण दिई रहेका छन् ।