एसपी रिपोर्टर
जनकपुरधाम, असार ३० : उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सुनिता यादवले प्रदेश विकासका लागि आ–आफ्नो स्तरबाट सबै पक्षले सहयोग गर्नुपर्ने खाँचो रहेको बताएकी छन् । प्रदेश विकास मात्र नभई यहाँको समाज परिवर्तनका लागि समेत आ–आफनो ठाउँबाट सहयोग गर्नुपर्ने बताइन् ।
जनकपुरधाममा शनिबार मधेश ग्रामिण विकास परियोजनाको १५ औ वार्षिकोत्सव कार्यक्रममा मन्त्री यादवले समाज रूपान्तरणका लागि विभिन्न क्षेत्रमा गैरसरकारी संघसंस्थाहरू कार्यरत रहेको भन्दै यी संघसंस्थाले आफ्नो उत्तरदायित्व बुझेर काम गर्नुपर्ने बताइन् । गैर सरकारी संस्थाहरुप्रति पछिल्लो समय नाकारात्मक टिप्पणीहरु समेत आईरहेकाले उत्तरदायित्व भित्र रहेर समाज विकासमा योगदान पुर्याउन मन्त्री यादवले आग्रह गरिन् ।
कार्यक्रममा प्रदेशसभा सदस्य रामअशिष यादवले युवाहरूलाई अध्ययनशील बन्न आग्रह गरे । समाजमा युवाहरूलाई बिगार्ने तत्वहरू रहेको भन्दै उनीहरूबाट बचेर अगाडि बढ्न युवाहरुलाई सुझाव दिए ।
कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले अझै पनि खेतीकिसानी परम्परागत तरिकाबाट हुँदै आएको भन्दै समयअनुसार आधुनिकीरणमा जोड दिए ।
मधेशी ग्रामिण परियोजनाका अध्यक्ष संजय साहको अध्यक्षतामा भएको कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, समाजसेवी अमरचन्द्र अनिल, जसपा नेता संजय चौधरी लगायतको उपस्थिति रहेको थियो ।





