एसपी रिपोर्टर
जनकपुरधाम, असार २६ :
मकालु खबरका जनकपुरधाम संवाददाता सञ्चारकर्मी शिवेन्द्र रोहिता माथी संघातिक आक्रमण भएपछि अस्पताल भर्ना गरिएको छ । सोमबार बेलुका जनकपुरधामको २४ सै घण्टा ब्यस्त रहने चौकमा १२च४२४३ नम्वरको स्कार्पियोमा आएका ७/८ जनाको समुहले आक्रमण गरेर उनलाई घाइते बनाएको बताइएको छ ।

घाइते रोहिताले धनुषाको धनौजी गाँउपालिकामा भएको अनियमितता तथा बेथिति विरुद्ध समाचार लेखेको निहुँमा धनौजी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंजित यादवले आफ्ना भाइ सहितको एक समुक परिचालन गरि पत्रकार रोहितालाई निर्घात कुटपीट गर्न लगाएको आरोप छ ।

पत्रकारमाथि आक्रमण भईरहेको देखेर स्थानीयले प्रतिकार गर्न खोजेपछि सो समुह स्कारपियो गाडी छाडेर भागेका थिए । गाडी गाउँपालिकाले भाडामा प्रयोग गरिरहेको बुझिएको छ । आक्रमण गर्नेहरुमा अधिकृत यादवका भाइ स्वीटा भन्ने सुनिल अधिकारी, बिल्ला भन्ने सोनु कर्ण, मिठ्ठु लगायतका युवाहरु रहेको घाइते पत्रकार रोहिताले बताए ।

प्रहरीले उल्टै आक्रमणकारीहरुलाई नै सहयोग गरिरहेको समेत पत्रकार रोहिताले बताए । हतियार सहित आएका आक्रमणकारीहरुलाई पक्राउ गर्नुको सट्टा भगाउन प्रहरीले भूमिका खेलेको पत्रकार रोहिताले बताए । आक्रमण बाट घाइते पत्रकार रोहिताको प्रारम्भिक उपचार धनुषा अस्पतालमा गरिएर थप उपचारका लागि काठमाडौ पठाइएको बताइएको छ ।