एसपी रिपोर्टर
जनकपुरधाम, असार १४ :
मधेश प्रदेशको मानव सूचकांकमा सुधार गर्नका लागि जनचेतना फैलाउने गरि समाचार सम्प्रेषण गर्नका लागि सञ्चारकर्मीहरुलाई आग्रह गरिएको छ । मधेश प्रदेशका स्वास्थ्य निर्देशनालयले जनकपुरधाममा आयोजना गरेको स्वास्थ्य प्रबद्र्धन सेवा सम्बन्धि स्वास्थ्यकर्मी तथा मिडियाकर्मीहरुका लागि पैरवी कार्यक्रममा स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरुले यस्तो आग्रह गरेका छन् ।

मधेश प्रदेशमा रहेको मानव सूचकांकमा सुधार गर्नका लागि मातृ तथा शिशू दरमा कमी ल्याउनु पर्ने, वालवालिकाको पोषण अवस्थामा सुधार गर्नु पर्ने, गर्भवति महिलाको स्वास्थ्यमा विषेश ध्यान दिनु पर्ने रहेकाले यस विषयमा सञ्चार क्षेत्रले निरन्तर कलम चलाउनु पर्ने धारणा राखे ।

बालवालिकाको पोषण अवस्थामा सुधार गर्नका लागि स्वास्थ्य कर्मीहरुले २० प्रतिशत मात्र योगदान भएपनि अन्य क्षेत्रको योगदान ८० प्रतिशत हुने भएकाले ती क्षेत्रलाई पनि सजग बनाउनका लागि सञ्चार क्षेत्रले काम गर्न आवश्यक भएको बताए । नेपाल पत्रकार महासंघ धनुषाका उपाध्यक्ष अवधेश कामतले बालवालिकाको पोषण अवस्थामा सुधारका लागि सवै निकायहरुको संयुक्त प्रयास आवश्यक भएको बताए । कार्यक्रममा स्वास्थ्य निर्देशनालयका बरिष्ठ स्वास्थ्य शिक्षा प्रशिक्षक तथा जनस्वास्थ्य निरीक्षक विनोद यादवले स्वास्थ्य क्षेत्रको सुधारका लागि सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए ।

कार्यक्रममा यूनिसेफका सुमी मास्केले मधेश प्रदेशको समग्र स्वास्थ्यको अवस्थाका साथै महिला र वालवालिकाको अवस्था विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा महासंघ धनुषा सचिव बटुकनाथ झा, विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा स्वास्थ्यकर्मीहरु सहभागि भएका थिए ।