एसपी रिपोर्टर

जनकपुरधाम, जेठ ३१ :

मधेसमा पहिलो पटक मिस्टर एण्ड मिस मधेस प्रतियोगिता हुने भएको छ ।

किशार किशोरीहरुको क्षमता अभिवृद्धि तथा व्यक्तित्व विकास गर्ने उद्देश्यका साथ यो प्रतियोगिताको आयोजना वाइबी फिल्म्स प्रोडक्सनले आयोजना गर्न लागेको हो । १४ देखि २४ वर्षसम्मका युवा युवती सहभागी हुन पाउने सो प्रतियोगितामा मधेसको रीतिरिवाज, चालचलन, संस्कृति तथा सम्पदाहरुलाई प्रवर्धन गरिने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार प्रतियोगिताका लागि युवा युवतीहरु रजिस्ट्रेसन गराई रहेको र त्यसमध्ये ५० जनालाई सहभागी गराइने छ । प्रतियोगीहरुको छनौट असार १६ गते हुने अडिसनबाट गरिने छ ।

प्रतियोगीहरुलाई र्याम्प वाक, अन्तराष्ट्रिय स्तरको ग्रुमिंग सेसन, व्यक्तित्व तथा आत्मविश्वास विकास तथा प्रवर्धन, फेसन स्टाइलिंग, सार्वजनिक भाषण कला विकास, स्विमिंग, योग, फोटोसुट भिडियोसुट आदि विधामा प्रशिक्षित गरिने छ ।

कार्यक्रमको विजेताले १ लाख नगद पुरस्कार संगसंगै विभिन्न लघु चलचित्र म्यूजिक भिडियोहरुमा अभिनय गर्ने अवसर प्राप्त गर्नेछन् ।