एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ४ :

संघ सरकारको उदासिनताका कारण प्रदेशमा बनेका कानूनहरुको कार्यान्वयनको अवस्था दयनिय रहेको मधेसका प्रदेशसभा सदस्यहरुले आरोप लगाएका छन् ।
मधेस प्रदेशसभाको आयोजना तथा युएनडिपीको संसद सहयोग परियोजनाको सहकार्यमा भएको प्रभावकारी संसदीय अभ्यास तथा कानून निर्माणमा प्रदेशसभा सदस्यको भूमिका विषयका अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रदेससभा सदस्यहरुले प्रदेशबाट निर्माण भएका कानूनहरुको कार्यान्वयनको अवस्था कमजोर रहेको बताए ।
प्रदेशसभा सदस्य रामअशिष यादवले प्रदेशसभाले संघिय कानूनलाई नै टेकेर नबाझिने गरी विधेयकहरु ल्याएपनि संघ सरकार गम्भिर नहुँदा कानूनहरु त्यतीकै थन्किएको अवस्थामा रहेकोमा चिन्ता व्यक्त गरे ।
अर्का प्रदेशसभा सदस्य सरोजकुमार यादवले मधेस प्रदेशसभाबाट दर्जनौँ कानूनहरु निर्माण भएपनि त्यसमा संशोधनको आवश्यक्ता रहेको बताए । कतिपय विधेयकहरु अपुरो रहेकाले समेत कार्यान्वयनको अवस्था कमजोर रहेको उनको भनाई थियो ।
प्रदेशसभा सदस्य प्रमोद जयसवालले तीनवटै तहको सरकारहरुबिच अविश्वासको वातावरण रहेसम्म जति कानून बनाएपनि त्यसको कुनै काम नरहेको स्पष्ट पारे । उनले तीनै तहको सरकारलाई एक सूत्रमा बाँध्ने फर्मूला खोजी गर्नुपर्ने उनको भनाई थियो । संघियतालाई संस्थागत गर्नकालागि तीनै तहको सरकारबिच समन्वय हुनु अतिआवश्यक रहेको बताए ।
अर्का प्रदेशसभा सदस्य मनिषकुमार सुमनले प्रदेशसभा सदस्यहरु स्वयं विधेयकहरु अध्ययन नगर्ने गरेको आरोप लगाए । उनले विधेयक निर्माण हुँदा समेत कपी पेस्ट परिपाटी हुनु हास्यास्पद रहेको बताए । कपी पेष्ट गरी विधेयक निर्माण गर्ने र अध्ययन नै नगरी प्रदेशसभा बाट विधेयकहरु पारीत गरिएसम्म कानून कार्यान्वयनको अवस्था यस्तै कमजोर रही रह्ने उनको भनाई थियो ।
दुई दिनसम्म चल्ने सो अभिमुखीकरण कार्यक्रममा मधेसको प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले अध्यक्षता गरिरहेका छन् । कार्यक्रममा पूर्व मन्त्री मिन विश्वकर्मा, पूर्व संविधानसभा सदस्य विन्दा पाण्डे, पूर्व कानून सचिव माधव पौडेल लगायतले प्रदेशका कानून निर्माणको अवस्था, कार्यान्वयन, प्रदेशसभा सदस्यहरुको भूमिका लगायतको विषयमा प्रस्तुती दिएका थिए ।
अभिमुखीकरण कार्यक्रमको दोस्रो दिन शुक्रबार कानून निर्माण र संसदीय प्रतिनिधित्व विषयमा संघिय संसद सचिवालयका पूर्व सचिव ध्रुब घिमिरेले आफ्नो प्रस्तुती दिने युएनडिपीको मधेस प्रदेशका संसदिय मामिला अधिकृत बिट्टु श्रीवास्तवले जानकारी दिए ।