एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २ :
जनकपुरधाम उद्योग वाणिज्य संघले धनुषाका उद्योगी व्यवसायीहरूलाई तालिम दिने तयारी गरेको छ । उद्योगी व्यवसायीहरूलाई तालिमको तयारीका सम्बन्धमा छलफल गर्न मंगलबार जनकपुरधाम उद्योग वाणिज्य संघका साथै धनुषाका विभिन्न नगरका पदाधिकारीलगायतको बैठक बसेको हो ।
बैठकमा संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारीको अभावका कारण व्यवसायीहरूले विभिन्न किसिमका समस्या भोग्दै आएको भन्दै उनीहरूलाई कर तिर्ने तरिकालगायत विषयमा जानकारी दिइने बताउनुभयो । अध्यक्ष महासेठले अहिले पनि व्यवयासीहरूले परम्परागत किसिमले व्यवसाय गरिरहेको भन्दै उनीहरूलाई समयअनुसार आधुनिक व्यवसायका विविध पक्षबारे पनि जानकारी दिने बताउनुभयो ।
दुई चरणमा तालिम दिइने पनि संघले जनाएको छ । तालिमको मिति तोक्न बाँकी रहेको पनि संघले जनाएको छ । बैठकमा धनुषा जिल्लाका नगर उद्योग वाणिज्य संघका अध्यक्षहरू, वस्तुगत संघका अध्यक्ष, लेखा परीक्षकहरू, चार्टड अकाउन्टेन्ट तथा संघका पदाधिकारीहरू सहभागी भएका थिए ।