जनकपुरधाम, बैशाख २९ :
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७मा रहेको श्री राम जानकी माध्यमिक विद्यालयको ४ कोठे भवनको नगरप्रमुख मनोजकुमार साह शिलान्यास तथा उदघाटन गरेका छन् ।
नगरप्रमुख साहले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत निर्माण हुन लागेको ४ कोठे भवनको शिलान्यास गरेका हुन् भने नगरपालिकाद्वारा निर्माण गरिएको विद्यालयको भवनको उदघाटन समेत गरेका हुन् । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ४ कोठे भवन निर्माणकालागि ४५ लाख रुपैयाँको बजेट छुट्याइएको जनकपुरधाम ७का वडाध्यक्ष मुन्ना साहले जानकारी दिए । यसका साथै उदघाटन गरिएको भवन दुई आर्थिक वर्षमा गरी ३६ लाख लागतमा पूरा गरिएको उनले बताए ।
यता निमाविसम्म मात्रै संचालनमा रहेको सो विद्यालयलाई माविमा स्तरोन्नति गरिएको वडाध्यक्ष साहले बताए ।
शिलान्यास तथा उदघाटन कार्यक्रमका प्रमुख अतिथि प्रमुख साहले विद्यालयको नाममा जग्गाको लालपर्जा बनाउन पहल गरिने प्रतवद्धता व्यक्त गरे । कार्यक्रममा नगर उपप्रमुख किशोरी साह लगायत विभिन्न राजनीतिक दलका कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।