एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख २२ :
मुखियापट्टी मुसहरनिया गाउँपालिकामा अंग्रेजी माध्यममा चल्ने एक प्राथमिक विद्यालयको उद्घाटन गरिएको छ । मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर ४मा गाउँपालिकाका अध्यक्ष जयकुमार यादवले सो विद्यालयको उद्घाटन गरेका हुन् ।
सोही गाउँपालिकाका अमरेशनारायण झाले विद्यालयकालागि जग्गा उपलब्ध गराएपछि त्यहाँ विद्यालयको उद्घाटन गरिएको हो । विद्यालय अभावका कारण सो क्षेत्रमा बालबालिकाहरुलाई कठिनाई हुन्थ्यो, अब नजिकमै विद्यालय भएप्छि कठिनाई नहुने गाउँपालिकाका अध्यक्ष यादवले बताए । उनका अनुसार विद्यालय भवन निर्माणकालागि गाउँपालिकाले ३० लाख रुपैयाँ बजेट छुट्याइएको र आउने आर्थिक वर्षहरुमा समेत बजेट उपलब्ध गराइनेछ ।
उद्घाटन गरिएको यो विद्यालयलाई दाता परिवारकै नामबाट श्री सरस्वती परमानन्द आधारभूत विद्यालय नामाकरण गरिएको छ । यस विद्यालयमा पहिले ३ कक्षासम्म पढाई हुने र पछि कक्षा ५सम्म पुरयाइने गाउँपालिका अध्यक्ष यादवले बताए । उनले विद्यालयमा पूर्ण रुपमा अंग्रेजी माध्यमबाट पढाई हुने जानकारी दिए ।
मुखियापट्टी मुसहरनिया गाउँपालिकामा ११ वटा विद्यालय थियो भने यो १२औँ विद्यालयको उद्घाटन गरिएको छ ।





