एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख ८ :
इस्कन जनकपुरधामले जानकी नवमीको अवसरमा सप्ताहव्यापी भागवत कथाको आयोजना गर्न लागेको छ । इस्कनले जनकपुरधाममा निर्माण गर्न लागेको कृष्ण मन्दिर निर्माण स्थलमा भागवत कथा सप्ताहको आयोजना गर्न लागेको हो ।
वैशाख ९ गते शनिबारबाट शुरु हुने भागवत कथा वैशाख १५ गतेसम्म चल्नेछ । रामनुज दासले भागवत कथा प्रवचन सुनाउने छन् । भागवत कथाअघि कलश यात्रा निकालिने इस्कन जनकपुरधामका सचिव रामेश्वरमा दासले जानकारी दिए ।
उनका अनुसार वैशाख १६ गते जानकी नवमीका दिन महाअभिशेक राखिएको छ । पूजामा सहभागी हुने श्रद्धालुहरुले सो दिन भगवान रामजानकीको महाअभिशेकमा सरिक हुन पाउनेछन् ।
वैशाख १७ गते भगवान जगन्नाथको रथयात्रा निकालिने इस्कनका सचिव दासले बताए ।
यता इस्कनले त्यहाँ ग्लोरी अफ मिथिला नाम दिएर भव्य कृष्ण भगवानको मन्दिर निर्माण समेत गर्न लागेको छ । एक अर्वभन्दा बढीको लागत लाग्ने सो मन्दिर निर्माणका लागि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३मा २ बिघा ऐलानी जग्गा छुट्याइएको छ ।