एसपी रिपोर्टर
जनकपुरधाम, चैत २९ : जनकपुरधाम मेयरकप २०७९ को सातौ दिन भएको दुई खेलहरुमा सप्तरी र पत्रकार ११ विजयी भएको छ । जनकपुरधाम वडा नं. १४ रजौल स्थित प्रस्तावित श्री रामजानकी बहुद्देश्य अन्तराष्ट्रिय रंगशाला निर्माण अभियान अन्तर्गत भइरहेको मेयरकप २०७९ प्रतियोगीताको बुधवार विहान भएको पहिलो खेलमा सप्तरीले पोखरालाई ५ विकेटले हराउदै सेमिफाइनलमा पुग्ने अन्तिम चौथो टिम बनेको छ ।
टस जितेर पहिला ब्याटिङ्ग रोजेको पोखराले २० ओभर खेल्दै ८ विकेटको क्षतीमा १ सय ४ रनको मध्यम स्कोर बनाएको थियो । पोखराका लागि अभिशेष थापाले ३४, कृष्ण पौडेल १५ तथा सन्दिप खत्री र गौरव विके १४/१४ रन जोडेको थियो । सप्तरीको तर्फबाट राहुल मण्डल ३, नितेश यादव र राज वर्मा १/१ विकेट लिएका थिए ।
१ सय ५ रनको लक्ष्य सहित जवाफी ब्याटिङ्ग गर्न आएको सप्तरी मात्र १६ ओभरमा ५ विकेटको क्षतीमा १ सय ८ रन बनाएर पोखरालाइ स्तब्ध पार्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल भएको छ । सप्तरीका लागि रोहन विके ४४, राहुल मण्डल २९ र निरज यादव अविजित १९ रनको पारी खेले । पोखराका लागि चन्द्रकान्त पौडेल ३ र कृष्ण पौडेल २ विकेट लिएपनि टिमलाई जिताउन सकेन । खेलमा सप्तरीका लागि २९ रन र ३ विकेट दिने राहुल मण्डल म्यान अफ दी म्याच चुनिए ।
त्यसै गरि रंगशाला निर्माण अभियान र मेयरकपको समेत प्रवद्वन तथा प्रचार प्रसारका लागि आजै दिउँसो भएको मेयर ११ विरुद्व पत्रकार ११ बिचको मैत्रीपुर्ण खेलमा पत्रकार ११ ले ६५ रनको फराकिलो अन्तरले खेल जितेको छ । मेयर ११ जनकपुरधामका मेयर मनोज कुमार साहको नेतृत्वमा र पत्रकार ११ पत्रकार सन्दिप साहको नेतृत्वमा मैदानमा उत्रेको थियो । टस जितेर पहिला ब्याटिङ्ग गरेको पत्रकारको टिम निर्धारित १२ ओभर खेल्दै २ विकेटको क्षतीमा १ सय ११ रनको योगफल तयार पारेको थियो । पत्रकार ११ का लागि सर्वाधिक अभिनाश झा ३६ र कमलेश ठाकुर २२ रन जोडेका थिए । मेयर ११ का लागि आशिष झा १ र रामसरोज यादव १ विकेट लिएका थिए ।
१ सय १२ रनको लक्ष्य पुरा गर्न मैदान उत्रेको नेता, कर्मचारी र आयोजकको टिम १२ ओभरमा मात्र ४६ रन बनाउन सक्यो । उनका लागि गुड्डु पाण्डे र सरोज मिश्रले १०/१० र कृष्णा सिंहले ३ रन जोडन अन्य बल्लेबाज चल्न सकेन । पत्रकारको तर्फबाट घनश्याम मिश्र, अजय झा, संजय साह र अभिनाष झाले १/१ विकेट लिए ।
मेयर ११ टिममा जनकपुरधामका मेयर मनोज कुमार साह, प्रदेश सांसद रामसरोज यादव, शेषनारायण यादव, दिपेन्द्र ठाकुर, कुमरकान्त झा, मेयर हरि मण्डल, विनय कुमार यादव, वाड अध्यक्ष परमेश्वर साह, जनकपुरधाममा प्रमुख प्रशासकिय अधिकृत रत्नेश शशी, जनकपुरधाम ९ कांग्रेस सभापती विमलेश सिंह, वडा सदस्य अमित साह, कांग्रेस नेता कृष्णा सिंहका साथै मेयरकपका आयोजकको तर्फबाट सरोज मिश्र, आशिष झा, गुड्डु पाण्डे सहितकाले खेलेका थिए भने पत्रकार ११ बाट सन्जिव झा, संजय कुमार साह, विकास आर्या, विजय झा, श्रीनारायण साह, सन्दिप साह, अभिनाष झा, घनश्याम मिश्र, अवधेश कामत, पुरन साह, रोहित महतो, अजय झा, राहुल सिंह, कमलेश ठाकुर सहितकाले खेलेका थिए ।
प्रतियोगितामा विहिवार दुई सेमिफाइनल खेलहरु हुनेछ । विहान ९ बजे हुने पहिलो सेमिफाइनल खेल धनुषा विरुद्व सप्तरी बिच हुनेछ भने दिउँसो डेढ बजे हुने अर्को सेमिफाइनल खेलमा बारा र बिराटनगर आमनेसामने हुनेछ । यि दुवै सेमिफाइनलका विजेताहरु शुक्रवार हुने रोमाञ्चक फाइनल प्रतिस्पर्धामा भिडने छ ।