एसपी रिपोर्टर
जनकपुरधाम, चैत २३ : आज चैत्र शुक्ल पूर्णिमा, रामभक्त हनुमानको जन्मजयन्ती आज देशभर मनाइएको छ । यसैक्रममा जनकपुरधाममा पनि बिहीबार विभिन्न हिन्दूवादी सघसंगठनहरूले शोभायात्रा निकालेर हनुमान जयन्ती मनाएका छन् ।
यस दिन हनुमानजीको जन्म भएको विश्वासमा जनकपुरधाममा भव्यताका हनुमान जयन्ती मनाउने गरिन्छ । जानकी मन्दिरबाट निस्किएको शोभायात्रा अस्पताल रोड, रामानन्द चौक, पिडारी चौक, मिल्स एरिया, जनक चौक, महाबीर चौक हुँदै पुन: जानकी मन्दिरमा पुगेर समापन भएको थियो ।
शोभायात्रामा सहभागीहरूले आफूहरूले सबै धर्मको सम्मान गर्दै आएको बताएका छन् । उनीहरूले नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्ने पनि माग गरेका छन् । शोभायात्रामा युवा तथा भक्तजनहरू सहभागी भएका थिए । हनुमानको पूजा आराधना गरेमा बल, वुद्धि, विद्या मिल्ने, दु:ख र सङ्कटबाट मुक्ति पाउने विश्वास छ ।

हनुमानलाई वायुका छोरा मानिन्छ । हनुमानले जुनसुकै रूप धारण गर्न सक्ने विश्वास गरिन्छ । वैदिक शास्त्रीय ग्रन्थमा पनि विष्णु अवतारका रूपमा जन्म लिनुभएका रामचन्द्रलाई सहयोग गर्न शिव अवतारका रूपमा हनुमानले पनि जन्म लिएको वर्णन गरिएको छ । स्कन्द पुराणमा हनुमानभन्दा जगतमा ठूलो प्राणी कोही छैन भन्ने व्याख्या गरिएको छ । हनुमानलाई बजरङ्ग बली पनि भनिन्छ किनकी हनुमानको शरीर एक वज्रको समान थियो । हनुमान पवनपुत्रको रूपमा चिनिन्छन् ।

किन भने पवन देव (हावाको देवता) ले हनुमानको पालन पोषणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । हनुमानको पूजा आराधना गरेमा रोग, बाधा, भय, प्राकृतिक शक्तिको बाधा, पिचासी शक्ति, भूत, नकारात्मक तत्व, आगो, राक्षसी शक्तिको प्रकोप र बेतालबाट पनि मुक्ति पाइन्छ भन्ने मान्यता छ ।

यस अवसरमा हनुमानढोकास्थित हनुमानको मूर्ति, पशुपतिस्थित हनुमान मन्दिर, गोकर्णेश्वर नगरपालिकामा रहेको पञ्चमुखी हनुमानलगायत देशभरका हनुमान मन्दिरमा पूजा आराधना गरिएको छ ।

गौ संरक्षण मञ्चले पनि हनुमान जयन्ती मनायो
यसैबीच, जनकपुरधामस्थित गौ संरक्षण मञ्चले पनि हनुमान जयन्ती मनाएको छ । बिहीबार भएको कार्यक्रममा सहभागीहरूले हनुमानजीका विविध पक्षका विषयमा चर्चा गरिएको । कार्यक्रममा जनकपुरधामका पूर्वमेयर बजरंगप्रसाद साहले अहिले पनि विभिन्न स्थानमा जनकपुर मात्र लेखिने गरेकोप्रति असन्तुष्टि जनाउँदै धाम जोडेर जनकपुरधाम लेख्न सबै निकाय तथा सर्वसाधारणसँग अनुरोध गर्नुभयो ।

त्यस्तै, जनकपुरधामका अर्का पूर्वमेयर लालकिशोर साहले आफ्नो कार्यकालमा लागु गरिएका केही नियम अहिले आएर तोडिएकोप्रति असन्तुष्टि जनाउनुभयो । उहाँले आफू मेयर हुँदा उपमहानगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरूका लागि केशारिया रंगको पहिरन लागु गरेपनि अहिले हटाइएको गुनासो गर्नुभयो ।
साथै, आफूले लागु गरेको ‘जय जय जनकपुर’ गीत समेत हटाएको उहाँको गुनासो छ । कार्यक्रममा जनकपुरधामका उपमेयर किशोरी साह, उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष निर्मल चौधरी, राम मन्दिरका महन्त राम गिरीलगायतले धारणा राखेका थिए ।





