एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख १५ : कोरोना भाइरस कोभिड १९ को उच्च जोखिममा रहेको प्रदेश २ आठ जिल्लाका पत्रकारहरुलाई बल्ल प्रदेश सरकारले सम्झेको छ । लकडाउनको करिव ३५ औं दिन सम्म पनि मुख्यमन्त्रीले सम्बोधन गर्न नसकेका प्रदेशका पत्रकारहरुलाई सोमवार समाजिक विकास मन्त्रालयले केहि स्वास्थ्य सुरक्षा समाग्री प्रदान गरेका छन् ।
समाजिक विकास मन्त्री नवल किशोर साहले नेपाल पत्रकार महासंघ प्रदेश कमिटीलाई सोमबार स्वास्थ्य सुरक्षा समाग्री हस्तान्तरण गरेका हुन । प्रदेश कमिटीका महिला उपाध्यक्ष रिंकु मिश्रको माध्यमवाट सुरक्षा समाग्री हस्तान्तरण गरिएको हो । मन्त्री साहले एक हजार थान मास्क, हजार जोडा ग्लोब्स र ४० लिटर स्यानीटाईजर हस्तान्तरण गर्दै यस महामारीमा पनि जोखिम मोलेर अग्रपंक्तिमा खटने पत्रकारलाई आफ्नो सुरक्षासंगै जनतालाई सूचना प्रदान गर्दा संवेदनशील बन्न आग्रह समेत गरेका छन् ।
सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर रामप्रसाद घिमिरेले यस विपदको समयमा पनि जोखिम मोलेर कोरोना रोकथामका लागि जनतालाई सू–सूचित बनाउने कार्यमा संलग्न पत्रकारहरुको स्वास्थ्य सुरक्षाका लागि प्रदेश सरकार संवेदनशील रहेको बताए । साथै सचिव घिमिरेले संचारकर्मी सहित जोखिमका बिच काम गर्ने पेशाकर्मीहरुलाई मध्यनजर गर्दै प्रदेश सरकारले कोभिड १९ सम्वद्ध कार्यमा क्रियाशील रहेकै कारण ज्यान गुमाएको खण्डमा पिडित परिवारलाई ५० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय समेत गरिसकेको बताएका थिए । सो अवसरमा महासंघ प्रदेश २ का कोषाध्यक्ष प्रविन साह, सदस्य अजय साह सहितको उपस्थिती थियो ।