एसपी रिपोर्टर
जनकपुरधाम ,चैत २२ :

मधेश प्रदेशमा पनि डेडिकेटेड ग्रान्ट मेकानिजम डीजीएम नेपाल परियोजनाको शुभारम्भ भएको छ । यसअघि, लुम्बिनी प्रदेशमा लागू भइसकेको डीजीएम परियोजना मधेश प्रदेशमा पनि लागू भएको हो । नेपाल ग्रामीण पुनर्निर्माण संस्था आरआरएन अन्तर्गत सञ्चाल हुने यो परियोजनाको बुधबार जनकपुरधाममा कार्यक्रम गरी शुभारम्भ गरिएको हो । मधेश प्रदेशमा वननजिक वा वन क्षेत्रमा आश्रित भई जिविकोपार्जन गर्ने आदिवासी, जनजाति तथा स्थानीयवासीको जीवनस्तरमा सुधार गर्नका लागि यो परियोजना ल्याइएको हो । बुधबार भएको कार्यक्रममा सहभागीहरूले यो परियोजनको उद्देश्यका बारे जानकारी दिएका छन् । कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले यो परियोजनाले वन क्षेत्रको संरक्षणमा पनि सहयोग पुयाउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रम सहभागीहरूले डीजीएम परियोजनालाई पूरा गर्न आवश्यक विधि तथा प्रक्रियाका विषयमा सुझावहरू दिएका थिए । नेपालका डाक्टर सुरेश तामाङले यो परियोजना लक्ष्य र उद्देश्यअनुसार काम गर्ने प्रतिबद्धता जनाउनुभयो । विश्व बैंकसँग सम्झौता भएपछि डीजीएम नेपाल परियोजनाको औपचारिक शुभारम्भ भएको हो ।