एसपी रिपोर्टर
जनकपुरधाम, चैत १ :
नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक बसन्तबहादुर कुँवरले मधेश प्रदेश प्रहरीको छवि सुधारका लागि आफू काम गरेको बताउनुभएको छ ।
प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा भएका कुँबरको सम्मानमा जनकपुरधामका विभिन्न संघसंस्था तथा क्लबहरूले गरेको कार्यक्रममा एआईजी कुँबरले यस्तो बताउनुभएको हो ।
स्वार्थ देखिने गरेकाले सुशासनमा समस्या उत्पन्न हुने गरेको भन्दै सबैले आ-आफ्नो जिम्मेवारी र कर्तव्य बोध गर्नुपर्ने उहाँको भनाइ छ । एआईजी कुँवरलाई संरचना नेपाल, श्री राम युवा कमिटी, श्री महावीर युवा कमिटी, सुनचाँदी व्यवसायी संघ, एनप्याब्सनलगायत संघसंस्था र क्लबले सम्मान गरेका थिए । कार्यक्रममा संरचना नेपालका अध्यक्ष अमरचन्द्र अनिल, महावीर युवा कमिटीका अध्यक्ष बलराम साह, राम युवा कमिटीका अध्यक्ष परमेश्वर साह, सुनचाँदी व्यवसायी संघका अध्यक्ष पवन ठाकुर, एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष गजेन्द्र मिश्र, प्रमोद चौधरीलगायत सहभागी भएका थिए । मधेश प्रदेशका डीआईजी कुँवरलाई केही दिन अघि मात्र सरकारले एआईजीमा बढुवा गरेको हो ।