एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २९ : जनकपुरधाम नगरको सरसफाईका लागि विभिन्न निर्णय गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाको सभाहलमा आयोजित सर्वपक्षिय भेलाले जनकपुरधामको सरसफाईका लागि टास्क फोर्सको गठन देखि अगामि शुक्रवार बेलुकी चार बजे सचेतना रयाली गर्ने कार्यक्रम तय गरेको छ ।
पाँच देखि ७ सदस्सीय एक टास्क फोर्स गठन गरि सरसफाई सम्बन्धी अप्लकालिन, मध्यकालिन र दिर्घकालिन योजना तयार गर्ने र संगसंगै सचेतनाका कार्यक्रमहरु समेत चलाउने निर्णय भएको छ । काठमाण्डौंमा पनि २०६१ पछि मात्र सचेतना बढेको र त्यसपछि मात्र सडकमा फोहर फाल्न बन्द भएको भन्दै धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जनकपुरधाममा सचेतनाको कमी रहेको भन्दै जागरण चलाउनु पर्ने बताए ।
भण्डारीले जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा पान, गुटखा खाएर थुक्नेलाई सार्वजानिक रुपमा दशपटक कान समातेर उठबसको कारवाही सुरु भइसकेको बताए । कार्यक्रममा वृहतर जनकपुरधाम क्षेत्र विकास परिषदका अध्यक्ष शितल साहले जनकपुरधाम सफाईका लागि नियम र कडाई तथा करवाही आवयश्क रहेको बताए ।
सहायक सिडिओ सहित तिनैतहका प्रशासनका प्रतिनिधीहरुले जनकपुरधामको सफाई हरेक जनकपुरधामवासीको प्रतिष्ठासंग जुडेकाले उपमहानगरपालिकाले नेतृत्व लिन हिचकिचाउन नहुने भन्दै प्रशासनको तर्फबाट कुनै पनि सहयोग गर्न तयार रहेको प्रतिवद्वता व्यक्त गरेका थिए ।
घरको अगाडि मुख्य सडकमा फोहर फयाक्नेलाई कारवाहीको दायरा ल्याउनुपर्ने र फोहर उठाउन उपमहानगरपालिका सक्रियता देखाउनु पर्ने भेलाको निश्कर्ष थियो । कार्यक्रममा जनकपुरधामका उपप्रमुख किशोरी साह, जनकपुरधाम उद्योग बाणिज्य संघ, चेम्वर अफ कर्मश, युवा क्लवहरु, वडा स्तरका टोल सुधार तथा सफाई समितिहरु, विभिन्न पेशागत संगठनका प्रतिनिधीहरु सहित वडा अध्यक्ष तथा सदस्यहरुको उपस्थिती थियो ।