एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १३ :
जनकपुरधामस्थित एक पोखरीमा विष हालेर माछा मारेपछि वातावरण प्रदुषित बनेको भन्दै स्थानीय आन्दोलित भएका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–९ र ११ को सिमामा अवस्थित जानकी मन्दिर मातहतमा रहेको रुकमिनी सरमा ठेकेदारले विष हालेर माछा मारेपछि वातावरण प्रदुषित बनेको हो ।
रुकमिनी विकास मञ्चका अध्यक्ष प्रमोद साहले आफूहरुले विगत ७ वर्षदेखि पोखरीको सरसफाइ गर्दै आएको बताए । जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले पोखरी ठेक्कामा नलगाउने सर्तमा आफूहरुलाई सौन्दर्यीकरणको जिम्मा दिएको उनले जानकारी दिए ।
उनले भने, ‘तर, त्यसको केही दिनमै महन्थ दासले पोखरी ठेक्कामा लगाएको कुरा हामीले जानकारी पायौं । गुनासो लिएर महन्थ कहाँ पुग्दा महन्थ दासले ठेक्का नलगाए मन्दिरको आम्दानीको स्रोत समाप्त हुने बताएपछि हामी फर्केका थियौं ।’
उनले प्रश्न गर्दै भने, ‘वातावरण प्रदुषित ठेकेदारले गर्ने तर, सरसफाइ हामीले गर्ने ? के सौन्दर्यीकरणको अर्थ प्रदुषित गर्नु हो ?’
उनले सो पोखरीको ठेक्का बन्द गरि पोखरीलाई स्वच्छ रहन दिन महन्थ दाससँग आग्रह गरेका छन् ।