एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १० : गणतान्त्रिक नेपालको राष्ट्रपतिमा व्यक्तिगत हिसावले तेस्रो र कार्यकालका हिसावले चौथो राष्ट्रपतिको छनौटमा अहिले सबैको ध्यान केन्द्रित छ । राजनितिक दल मात्र होइन नागरिक समाजका अगुवा, बुद्विजिवी, विभिन्न पेशागत अगुवाहरु समेत अहिले राष्ट्रपति को बन्ने र कसलाई बनाउने भन्ने तर्फ अग्रसर रहेका छन् ।
अगामि फागुन १३ गते हुने राष्ट्रपति उम्मेदवारको मनोनयन र २५ गतेको निर्वाचन सबैका लागि उत्सुकताको विषय बनेका बेला आफुलाई देशका मुख्य दल भन्ने पार्टीका नेताहरु र राजनितिका जानकारहरुको ध्यान जसपा अध्यक्ष उपेन्द्र यादव तर्फ पनि केन्द्रित छ । गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार डा. रामवरण यादवलाई रातारात विजेता बनाउने दाउ खेलेका यादव अहिले मौन जस्तो देखिएपनि यसलाई विभिन्न दृष्टिकोणले विश्लेषण गरिदैछ ।
यादवका लागि सरकार भन्दा राष्ट्रपति प्राथमिकतामा
जसपा वर्तमान प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन त गर्यो तर सरकारमा गएन, जसपा स्रोतका अनुसार त्यसको एक मात्र कारण छ संविधानका रक्षक राष्ट्रपति सर्वस्वीकार्य र वास्तिवक संविधानलाई रक्षा गर्ने व्यक्तिनै हुनुपर्दछ भन्ने चाहना यादवको छ । गलत व्यक्ति त्यस पदमा गए संविधान धरापमा पर्ने र प्राप्त उपलब्धीहरु समेत गुम्ने खतरा रहेकाले यादवले सरकार भन्दा प्राथमिकता राष्ट्रपतिलाई दिएका हुन ।

यादवले हाल सम्म भर्ती भएको हरेक सर्वोच्च निकायहरु गैर मधेशीको नेतृत्वमा बनेकाले राष्ट्रपति वा सम्भव नभए उपराष्ट्रपतिमा मधेशी समुदायलाई पुरयाएर मधेश भावनाको नेतृत्व उनले पुन: गर्न चाहेको जानकारहरु बताउछन् । गत निर्वाचनमा पराजित भएर पनि यादव सत्ता, सरकार र सर्वोच्च राजनितिक निर्णयहरुमा आफनो प्रभावकारी भुमिका निर्वाह गरि मधेशको नेतृत्व अहिले पनि आफनै हातमा रहेको प्रमाणित गर्दै कुशल अविभावकत्वका लागि प्रयासरत रहेको नेताहरुको दावी छ ।
जसपाका एक नेताले भने, ‘डा. रामवरण यादवलाई राष्ट्रपति बनाउँदा जातीवादसंग बिश्लेषण भयो तर एउटा मधेशी किसानको छोरालाई राष्ट्रपति बनायो भनेर कसैले चर्चा गरेन ।’
राष्ट्रपति निर्वाचनमा मधेशको प्रभाव र बर्चश्व पुन: देखाउने रणनिती
उपेन्द्र यादव संसदमा पुग्न नसकेपनि उनको अभाव संसदमा महशुस भइरहेको छ । भद्र, शालिन र मधेशका लागि तर्कपुर्ण अभिव्यक्ति दिन सक्ने राजनितिज्ञ भएकाले उनको अभाव महशुस भइरहेको कुरा उनलाई पराजित गरेका जनमत पार्टीकै अध्यक्ष डा. सिके राउतले पनि संसदकै रोष्टमबाट स्वीकार गर्दै उनको नाम आदरका साथ सम्बोधनका क्रममा लिने गरेका छन् ।

जसपा अध्यक्ष यादव अगामि राष्ट्रपतिको निर्वाचनमा पनि मधेशको प्रभाव र शक्तिलाई निर्णायक बनाउने रणनितीमा लागि परेका छन् । लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई कांग्रेस, एमाले र माओवादी सहितका दलले राष्ट्रपतिको रुपमा अगाडि बढाए आफुलाई खुसी लाग्ने र देशकै हितमा हुने उनले सञ्चार माध्यममा अभिव्यक्ति दिनुले पनि सो कुरालाई प्रष्ट गर्दछ । ठाकुरलाई कांग्रेस वा एमाले मध्ये एक दलले अगाडि सारे राष्ट्रपति बनाउने नभए उपराष्ट्रति सुरक्षित गरि कम्तिमा एक मधेशीलाई त्यहाँ पुरयाउन यादव सक्रिय छन् ।
यसले विग्रिएको मधेश केन्द्रित दलहरु बिच सदभाव बढने र कम्तिमा दलहरु बिच कार्यगत एकता भई मधेशको शक्ति पुर्नजार्गित हुने सम्भवनाका लागि पनी उनी सक्रिय रहेको बताइन्छ । मधेश केन्द्रित दलहरु बिचमा भएको विभाजन र आपसी टकरावका कारण मधेशमा एमाले र कांग्रेसको बर्चश्व हुन गएको कुरा यादवले बुझिसकेकाले पनि उनी निर्णायक र लचक राजनिती अंगाल्न सक्ने बताइन्छ ।
सफल होला त यादवको अगामि रणनिती ?
एक सञ्चारमाध्यमलाई दिएको अन्तरवार्तामा यादवले भनेका छन्, ‘यदि महन्थ ठाकुर राष्ट्रपति बन्नुहुन्छ भने मेरो लागि त त्यो खुशीको खबर नै हुन्छ । त्यसो हुन सके त गर्वकै विषय हुन्छ । डा. रामवरण यादवलाई त मैले राष्ट्रपति बनाएकै हो । महन्थजी राष्ट्रपति हुनुभयो भने त्यो झन् खुशीको कुरा हुन्छ । तर, यहाँ जे परिस्थिति छ, त्यसले त्यो कुरा देखाइरहेको छैन । जोसँग शक्ति छ, जो सत्तामा छ, के उनीहरूले महन्थ ठाकुरलाई स्वीकार गर्लान् त ?’

मधेशमा चलेको चर्चा अनुसार राष्ट्रपतिमा महन्थ ठाकुर वा त्यो सम्भव नभए उपराष्ट्रपतिमा जसपाले पाउनु पर्ने तर्क जसपाको छ । त्यसो भएमा खाली हुन सक्ने निर्वाचन क्षेत्रबाट चुनाव जितेर पुन: संसदको यात्रा तय गर्न सहज हुने छ ।
यद्यपि यादवले आफु अहिले त्यता तर्फ भन्दा पनि उपलब्धी र संविधानको रक्षा गर्न सक्ने सर्व स्वीकार्य व्यक्तिलाई राष्ट्रपति बनाउन तर्फ केन्द्रित रहेको बताउदै आएका छन् । एता एमालेले राष्ट्रपतिका रुपमा प्रधानमन्त्री प्रचण्ड समक्ष माधव कुमार नेपाल र शुभाषचन्द्र नेवाङ्गको नाम प्रस्ताव गरिसकेको छ ।
