एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ८ : चुरे तथा वन जंगल संरक्षण अभियानले आन्दोलन घोषणा गरेको छ । अभियानले सोमबार जनकपुरधाममा पत्रकार सम्मेलन गरी पाँचबुँदै माग सार्वजनिक गर्दै आन्दोलनको घोषणा गरेको हो । चुरे तथा वन जंगल संरक्षणलगायत अन्य विविध विषयमा भएका सहमतिहरू कार्यान्वयन भएको भन्दै अभियानले फागुन ११ गतेबाट अनिश्चितकालनि धर्ना दिने घोषणा गरेको छ ।
अभियानले धनुषामा हत्या गरिएका दिलिप महतोलाई पर्यावरण शहीद घोषणा गर्नुपर्ने, अवैध क्रसर उद्योगहरूमाथि तत्काल रोक लगाउनुपर्ने, मधेश सरकारसँग विगतमा भएको ७ बुँदे सहमति कार्यान्वयन हुुनुपर्ने र भूमिहीन तथा सुकुम्बासीलाई जग्गा उपलब्ध गराउनुपर्ने माग गरेको छ ।
त्यस्तै, सुरक्षित तथा योग्यताअनुसार सुनिश्चित रोजगारीको व्यवस्था मिलाउनुपर्ने र स्थानीय तहको निर्वाचन निरदलीय हुनुपर्ने पनि माग गरिएको छ । मागप्रति संघ प्रदेश र स्थानीय तथा सम्बन्धित निकाय उदासीन रहेकाले फागुन ११ गतेदेखि मुख्यमन्त्री कार्यालय अगाडि २४ घण्टे अनिश्चितकालीन धर्ना दिने अभियानले जनाएको छ ।
सोही दिन प्रदेश सरकार अगाडि र जिल्ला प्रशासन कार्यालय अगाडि दिउँसो २ बजे प्रदर्शन गर्ने समेत अभियानले जनाएको छ । माग पूरा नभएसम्म धर्ना जारी रहने पनि अभियानका अध्यक्ष सुनिल यादवे चेतावनी दिनुभएको छ । उनीहरूले आन्दोलनका कार्यक्रममा समर्थन दिन सम्पूर्ण न्यायप्रेमी जनता, किसान, मजदुर, महिला, विद्यार्थी, उद्योगपति, व्यापारी, बुद्धिजीवी, पेशागत कर्मचारीलगायतसँग अपिलसमेत गरेका छन् ।





