एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ८ : जनकपुरधामस्थित म्याक्स लाइफ होस्पिटलमा निशुल्क क्यान्सर परीक्षण शिविर सञ्चालन गरिएको छ । सोमबार म्याक्स लाइफ होस्पिटल र पूर्वाञ्चल क्यान्सर होस्पिटलको आयोजनमा निशुल्क क्यान्सर परीक्षण शिविर सञ्चालन गरिएको हो ।
शिविरमा विभिन्न स्थानबाट आएका एक सय १० जनाले स्वास्थ्य परीक्षण गराएका थिए । सर्वसाधारणले क्यान्सरसँग सम्बन्धित विभिन्न किसिमका जाँचहरू गराएका थिए । शिविरमा दुवै अस्पतालका क्यान्सर रोग विशेषज्ञहरूले जाँच गरेका थिए । शिविर अवलोकनका लागि आएका मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले अस्पतालहरूले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेकोमा आभार व्यक्त गर्नुभयो ।
उहाँले अन्य अस्पतालहरूले पनि आफ्नो सामाजिक दायित्यअन्तर्गत जनमुखि कार्यक्रमहरू गर्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा पूर्वाञ्चल क्यान्सर होस्पिटलका मेडिकल डाइरेक्टर डाक्टर वीरेन्द्र यादवले कुनै अंगमा क्यान्सर लागेको आशंका भएमा समयमै उपचार गराउन सल्लाह दिनुभयो ।
त्यस्तै, म्याक्स लाइफ होस्पिटलका मेडिकल डाइरेक्टर डा. कृष्णकुमार साहले यो अस्पतालले सामाजिक दायित्वको बोध गर्दै अबदेखि बिहान ९ बजेदेखि १२ बजेसम्म मात्र ५० रुपैयाँ शुल्क लिएर ओपीडी सेवा सुरु गरेको जानकारी दिनुभयो ।
सुगरको परीक्षण नि:शुल्क गर्ने पनि उहाँले जानकारी दिनुभएको थियो । कार्यक्रममा पूर्वाञ्चल क्यान्सर होस्पिटलका म्यानेजिङ डाइरेक्टर डाक्टर निरञ्जन प्रसाईलगायत चिकित्क तथा स्वास्थ्यकर्मी सहभागी भएका थिए । त्यसक्रममा विभिन्न व्यक्तिलाई सम्मानसमेत गरिएको थियो ।