एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ७ : तराई–मधेश लोकतान्त्रिक पार्टीको अध्यक्ष वृषेशचन्द्र लालले तमलोपा लोकतन्त्र र मधेश मुद्दाको मशाल जलाइरहने बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा तमलोपा धनुषा जिल्ला कार्यसमितिले आयोजित गरेको वृक्षारोपण कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष लालले राजनीतिक दल तथा नेताहरू पदको भागबण्डाका लागि लोकतन्त्रको स्वाभाविक अभ्यासलाई अवरोधित गर्ने कार्य गरिरहेको बताएका छन् ।
सबैको ध्यान राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र अन्य पद तथा कुर्सीमा छ, उनले भने पदबारे सहमतिको कुरा हुन्छ तर लोकतन्त्रको संवर्द्धन र भ्रष्टाचारको अन्त्य गर्नबारे सहमति र एकजूट प्रयासको निमित्त कुनै चर्चा नै हुँदैन । तमलोपा धनुषाको उपाध्यक्ष नारायण राउतको अगुवाईमा जनकपुर उपमहानगरपालिका–१३ पिराडीको राजर्षि जनक माध्यमिक विद्यालयमा वृक्षारोपण भएकोमा गुलमोहर, आंवला, नीम, पतरख, लगायत २५ जातका विरुवाहरू रोपिएको छ ।
प्रजातन्त्र दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा तमलोपाका सतीश दास, बिभा ठाकुर, विद्यालयका प्रधानाध्यापक बिनोद साहले अमर शहीदहरुप्रति श्रद्धांजलि अर्पित गर्नु भएको थियो भने तमलोपाक नेताहरू जोगी राय, हेमनाथ साह, भोलानाथ झा, रमेश अधिकारी, भगिरथ लाल इश्वर पंडित, राधिका चौधरी, सुनिता कर्ण, अंजना दत्त, श्याम मण्डल लगायत वृक्षारोपणमा सहभागी थिए ।