एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ७ : जनकपुरधाममा फागुन ११ गतेदेखि तीन दिवसीय चौथो ‘जनकपुर साहित्य महोत्सव’ हुन लागेको छ । नवमिथिला फाउण्डेशनको आयोजन र फ्याक्ट्स नेपालको प्रमुख प्रायोजनमा हुन लागेको महोत्सवको चौथो संस्करण फागुन १३ गतेसम्म चल्ने छ ।
२०७६ सालदेखि प्रत्येक वर्ष आयोजना हुँदै आएको महोत्सवमा यस वर्ष साहित्य, संगीत, सिनेमा, संस्कृति, पहिचान, समाज र राजनीतिसम्बन्धी विभिन्न २० वटा ओपन–एयर प्यानल छलफल हुने आयोजक नवमिथिला फाउण्डेशनका उपाध्यक्ष आदित्य नेपालले जानकारी दिए ।
जनकपुर साहित्य महोत्सवमा विधार्थी, राजनीतिज्ञ, कलाकार, संगीतकार, लेखक लगायतको सहभागिता रहने उनले बताए । महोत्सवमा नेपालभरिका साहित्यप्रेमीहरूको सहभागिता रहनेसमेत उनले जानकारी दिए । साहित्य महोत्सवको उद्घाटन सत्र फागुन ११ गते दिउँसो २:३० बजेदेखि जानकी मन्दिर परिसरमा हुनेछ ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपालका प्रथम राष्ट्रपति डाक्टर रामबरण यादव र विशेष अतिथी मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव रहने उनले बताए । त्यसैगरी, प्रबुद्ध मन्तव्य राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल, उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठ र डा. विजयकुमार सिंह (दनुवार) ले दिने बताइएको छ ।
साहित्यिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको महोत्सवमा देशभरिका ख्याति प्राप्त स्रष्टाहरूको सहभागिता रहने उपाध्यक्ष नेपालले जानकारी दिए ।