एसपी रिपोर्टर
जनकपुरधाम, माघ २८:
मधेस प्रदेशका सामाजिक विकासमन्त्री सुरिताकुमारी साहले दलितहरुको अधिकारमा पहुँच हुन नसकेको बताएकी छन् ।
दलित सरोकार मञ्च नेपाल कञ्चनरुप नगरपालिका–८ सप्तरीको आयोजनामा ‘दलित सशक्तीकरण ऐन २०७६ कार्यान्वयनको अवस्था : आगामी दिनमा कार्यपालिका सदस्यहरूको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री साहले सो कुरा बताएकी हुन् ।
उनले स्थानीय तहहरुमा सरकारले अनिवार्य दलितको सिद्धान्त पछि दलितको पहुँच कार्यपालिकामा भएपनि उनीहरुलाई अधिकारबाट अझै बञ्चित हुन परेको बताइन् ।
उनले भनिन, ‘वडा कार्यालय वा कार्यपालिकाका बैठकमा सहभागि त हुन्छन् तर उनीहरुले भनेको कुरा कसैले सुनिदिदैनन् । कार्यकारी पदमा दलित छैनन, अनि दलितको कुरा सुनेर पनि नसुनेझैं गरेर बस्नछन । अनि म कहाँ धेरै जना आउनुहुन्छ, म सुझाव दिएर पठाउछु, तपाईंहरु सही नगर्नुस् तर भत्ताको लोभमा उनीहरु सही गरेर आउँछन, यस्तो ठुलो विडम्बना छ ।’
कार्यक्रममा प्रदेशसभा सदस्य शारदा दास पहाडीले उत्पीडित समुदायलाई सामाजिक बहिष्करणबाट मुक्त गर्न विशेष अधिकारको ग्यारेण्टी हुनुपर्ने बताइन् ।
उनले भनिन, ‘आरक्षण शासक वर्गको खल्तिमा हुन्छ, सकारात्मक भएको बेला दिन्छ र अलि उसलाई असहज जस्तो भएमा खोस्छ । विशेष अधिकार उत्पीडित समुदायको हातमा हुन्छ, उसले प्रयोग गर्न पाउँछ ।’
उनले तत्कालिन नेकपा माओवादीले जनयुद्धका बेलामा मुक्तिको लागि विशेषाधिकारको अवधारणा अगाडि सारेको समेत बताइन् ।विशेषाधिकार राजनीतिकसँग र आरक्षण सामाजसँग जोडिएको बताउँदै आरक्षण संसारबाट असफल भइसकेकोले अव विशेष अधिकारमा जानुपर्ने उनको भनाइ थियो ।
कार्यकारी निर्देशक भोला पासमानले दलितले अधिकार नखोजेसम्म अधिकार नपाइने भएकाले संगठित रुपमा संघर्ष गर्नुको विकल्प नभएको बताए । राजनीतिक पार्टीका नेताहरुले सत्तामा पुग्न दलित मुक्तिका नारा लगाउने तर सत्तामा पुगेपछि आफैले लगाएका नारा नै भुल्ने गरेको बताए । कार्यक्रममा दलित समुदायको अधिकार, तथ्यमा आधारित पैरवी, सहभागितामूलक कार्यप्रणाली लगायतको विषयमा छलफल भएको थियो ।
मन्त्री साहले दलित सरोकार मञ्च नेपालले प्रकाशन गरेको दलित समुदायको अधिकार सम्बन्धी व्यवस्था पुस्तिका पनि बिमोचन गरेकी छन् ।
भोला पासवानले तयार गरेको उक्त पुस्तिकामा नेपालको संविधान विभिन्न ऐन कानुन नियमावली, कार्यविधिमा दलित अधिकार सम्बन्धी व्यवस्थाहरु समेटिएको छ ।
कार्यक्रममा मधेश प्रदेशसभामा निर्वाचित दलित समुदायका प्रदेशसभा सदस्यहरु रञ्जुकुमारी मण्डल खंग, सकुतीदेवी महारा, निलमकुमारी रजक, पल्टीदेवी महरा र शारदा दास (पहाडी)लाई मञ्चका निर्देशक पासवानले सम्मान गरेका थिए भने कार्यक्रममा स्वागत मन्तव्य मञ्चका कार्यक्रम संयोजक सुनिल कुमार सरवरियाले गरेका थिए ।