एसपी रिपोर्टर
जनकपुरधाम, माघ २१ : मैथिली विकास कोषको नयाँ कार्यसमितिमा पूरानै अनुहार दोहरिएका छन् । कोषको अध्यक्षमा पुन: जीवनाथ चौधरी चौथो पटक चयन हुँदा सदस्य सचिव र सदस्यहरु पनि पूरानै अनुहार हुन् । जनकपुरधाममा सम्पन्न कोषको साधारण सभाद्वारा आगामी कार्यकालका लागि अध्यक्ष पदमा चौधरीलाई चौथो पटक सर्वसम्मत चयन गरिएको हो ।
यसअघि तिन कार्यकाल सम्हालेका चौधरी चौथो कार्यकालका लागि जिम्मेवारी बहन गर्ने भएका छन् । प्रत्येक ३/३ वर्षमा हुने नयाँ कार्यसमितिको लागि यसअघि नै ९ वर्षको तिन कार्यकाल सम्हालेका चौधरी चौथो कार्यकालका लागि फेरि चयन भएका छन् । सर्वसम्मतिबाट भएको नयाँ कार्यसमितिको सदस्य सचिवमा साहित्यकार श्याम सुन्दर शशी चयन भएका छन् ।
कोषको सदस्यहरुमा शुनिल मल्लिक, नविन कुमार मिश्र, नित्यानन्द मण्डल, सुजित कुमार झा, पूनम झा मैथिली, अनिता रानी मण्डल, परमेश झा, विष्णुकान्त मिश्र, रामचन्द्र दास, पंकज महतो, मनमोहन साह, प्रमोद चौधरी र चयन भएका छन् । कार्यसमितिका एकजना सदस्य पछि मनोनित गरिने अध्यक्ष चौधरीले जानकारी दिए ।
साधारण सभाबाट तिन वर्षे कार्यकालको आर्थिक प्रतिवेदन कोषका अध्यक्ष जीवनाथ चौधरीले प्रस्तुत गरेका थिए भने प्रशासनिक तथा सांगाठनिक प्रतिवेदन सदस्य सचिव श्याम सुन्दर शशिले प्रस्तुत गरेका थिए । काषले प्रत्येक २ वर्षमा जनकपुर साहित्य कला महोत्सव, पुस्तक प्रकाशन, प्रत्येक वर्ष ५१०००/५१००० को दूई जना साहित्यकार लाई पुरस्कार वितरण लगायत कथा गोष्ठी, कवि गोष्ठी, अन्तरक्रिया जस्ता कार्यक्रम गर्दै आइरहेको छ ।
प्रदेश सरकारको सहयोगमा करिव ६ करोड़ ५० लाखको लागतमा कोषको सुविधा सम्पन्न भवन निर्माण भइरहेको छ । उक्त भवनमा मिथिला चित्रकलाको प्रशिक्षण र प्रदर्शनी, पुस्तकालय, नाट्यशाला लगायत मैथिली भाषा साहित्य सम्बन्धि अन्य विविध गतिविधिहरु हुने कोषका अध्यक्ष चौधरीले बताए ।