एसपी रिपोर्टर
जनकपुरघाम, माघ १५ :
मधेस प्रदेशमा कुष्ठरोगीको संख्या अत्यधिक रहेको देखिएको छ । ७०औँ विश्व कुष्ठरोग दिवसको अवसरमा आइतबार सामाजिक विकास मन्त्रालय मातहतको स्वास्थ्य निर्देशनालयद्वारा आयोजित एक कार्यक्रममा यस्तो तथ्यांक प्रस्तुत गरिएको हो ।
स्वास्थ्य निर्देशनालय कुष्ठरोग, क्षयरोग तथा एचआईभी एड्स शाखाका प्रमुख राजवीर यादवले चालू आर्थिक वर्ष २०७९/८० मा नेपालमा २ हजार २८५ नयाँ कुष्ठरोगी रहेकोमा मधेस प्रदेशमा मात्रै ९१० जना कुष्ठरोगीका बिरामी रहेको जानकारी दिए ।
सबभन्दा बढि बारामा जिल्लामा कुष्ठरोगी रहेको बताउँदै उनले नेपालका कूल रोगीमध्ये मधेस प्रदेशमा मात्र ४० प्रतिशत भेटिएको जानकारी दिए । उनले उल्लेखित संख्या भन्दा पनि बढि कुष्ठरोगी रहेपनि सामाजिक विभेद, घृणाका कारण अस्पताल जाने वातावरण नरहेकोले वास्तविक संख्या पत्ता लगाउन समस्या रहेको बताए ।
सरकारी तथ्यांक अनुसार देशभरका १६ जिल्लाहरुमा कुष्ठरोग प्रति १० हजार जनसंख्यामा १ भन्दा धेरै बिरामी रहेको स्थिति छ । जसमा बाँके, सर्लाही, झापा, बर्दिया, महोत्तरी, धनुषा, मोरङ, सिरहा, कैलाली, रुपन्देही, कपिलवस्तु, रौतहट, पर्सा, अछाम, नवलपरासी पश्चिम र बारा रहेका छन् । मधेस प्रदेशको सप्तरीबाहेक सबै जिल्लामा अहिले कुष्ठरोगका बिरामी रहेको तथ्यांक छ ।
‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ भन्ने मूल नाराका साथ धनुषाको सपहीमा सम्पन्न विश्व कुष्ठरोग दिवस कार्यक्रममा सहभागी लालगढ कुष्ठरोग सेवा केन्द्रका उपनिर्देशक डा. कृष्णबहादुर तामाङ्गले कुष्ठरोगीलाई उपचार मात्रै नभई सामाजिक सहयोग समेत आवश्यक रहेको बताए ।
लालगढ कुष्ठरोग अस्पताल तथा सेवा केन्द्रले अहिले दैनिक चारसय छालाका रोगी तथा कुष्ठरोगीको उपचार गर्दै आएको छ ।उपनिर्देशक तामाङ्गले लालगढ अस्पतालले ९२ शैयामार्फत छाला तथा कुष्ठरोगीका बिरामीको उपचार गर्दै आएको जानकारी समेत दिए ।
एनआरएल नेपालले कुष्ठरोग नियन्त्रण (पेप प्लस प्लस) कार्यक्रमअन्तर्गत महोत्तरी र धनुषा जिल्लाका ३३ स्थानीय तहमा कुष्ठरोगका बिरामीसँगका सम्पर्क व्यक्तिको पहिचान गर्नुका साथै उनीहरुलाई सचेतनामूलक कार्यक्रम तथा औषधि वितरण गर्दै आएको छ ।
नेपालमा २०६६ साल माघ ५ गते राष्ट्रिय स्तरमा कुष्ठरोग जनस्वास्थ्य समस्याको रुपमा निवारण (प्रति १० हजार जनसंख्यामा १ भन्दा कम बिरामी) भएको घोषणा गरिएको थियो । त्यस समयमा राष्ट्रिय स्तरमा कुष्ठरोगको प्रकोप दर ०.७७ रहेको थियो भने आर्थिक वर्ष २०७८/७९ को अन्त्य सम्म ०.८१ रहेको छ ।
कुष्ठरोग निवारणको घोषणा पश्चात् हालसम्म पनि राष्ट्रिय स्तरमा निवारणको अवस्थामा कायम रहेको देखिएको छ ।