एसपी रिपोर्टर
काठमाण्डौं, पुष २१ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच बिहीबार भेटवार्ता भएको छ । बिहीबार बिहान १० बजे देउवालाई भेट्न यादव उनको निवास धुम्बाराही पुगेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदैछन् ।
प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेश गर्दा जनता समाजवादी पार्टीले पनि समर्थन गरेको थियो । तर प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै यादवले देउवासँग गरेको यस भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । वर्तमान सरकारले जसपालाई सम्मानजनक रुपमा भागबण्डामा नराख्ने संकेतकै कारण जसपाले सरकारमा मन्त्री पठाएको छैन ।
स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड र यादवको राम्रो सम्बन्ध भएपनि प्रधानमन्त्री प्रचण्डले एमालेका कारण जसपालाई आफनो हिसावले समेट्न नसकेपछि जसपा अध्यक्ष यादव राजनितिक चतुराईका साथ पुनः सक्रिय भइरहेका छन् ।