एसपी रिपोर्टर
जनकपुरधाम, पुष २१ : वक्ताहरुले सञ्चारकर्मी र सञ्चार माध्यम कति आवश्यक छ भन्ने कुराको समिक्षा हुन आवश्यक रहेको बताएका छन् । मधेश प्रदेश सरकारको मिडिया काउन्सिलद्वारा आयोजित पत्रकार, सञ्चारमाध्यमको अवस्था र आचारसंहिता पुस्तक वितरण कार्यक्रममा बोल्दै जनकपुरधामका पत्रकारहरुले नै पत्रकार र सञ्चार माध्यम अनावश्यक रुपमा विस्तार भइरहेको भन्दै सिमित र कति आवश्यक भन्ने विषयको समिक्षा हुनुपर्ने बताएका छन् ।
पार्टी त पार्टी अव त नेता, जनप्रतिनिधी सहितकाले समेत आफनो स्वार्थका लागि मिडिया र पत्रकार निर्माण गर्न थालेपछि वास्तिवक पत्रकार उनको पेशा धरापमा पर्ने अवस्था आएको उनीहरुको गुनासो थियो । नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेश कुमार कर्णले कुनै घटना हुँदा महासंघ संग मात्र अपेक्षा गर्ने र विरोध गर्ने परम्परा रहेको भन्दै महासंघमा नेतृत्व स्थापित गर्ने दलका पत्रकार संगठनहरु समेत त्यस घटनामा न्यायका लागि अगुवाई गर्नुपर्ने बताए ।
काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दासले पत्रकार र सञ्चार माध्यमबाट आएका सुझावहरु संकलन गरि अगामि रणनिती तय गर्न र काउन्सिलले प्रकाशन गरेको आचार संहिता वितरणको उद्देश्यले कार्यक्रम गरिएको बताए । सो अवसरमा काउन्सिलका सदस्यहरु, सञ्चार माध्यम र पत्रकार महासंघका पदाधिकारीहरु सहित पत्रकारहरुको उपस्थिती थियो ।