एसपी रिपोर्टर
जनकपुरधाम, पुष १६ : मधेस प्रदेशमा सभामुख पदका लागि पुस ३० गते मनोनयन दर्ता हुने र माघ २ गते सभामुख छनौट हुने भएको छ । नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले शपथग्रहण गरेसँगै शनिबार बसेको सर्वदलीय बैठकले यस्तो सहमति गरेको हो ।
बैठकमा सभामुख र उपसभासमुख चयनका लागि पुस ३० गते मनोनयन दर्ता गर्ता गर्ने र माघ २ गते उम्मेदवारीको प्रस्तावलाई प्रदेशसभामा निर्णयार्थ पेस गर्ने निर्णय गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए । प्रदेश प्रमुख हरिशंकर मिश्रले पुस १८ गतेका लागि प्रदेशसभाको पहिलो अधिवेशन आह्वान गरेपछि कार्यसुचिबारे समेत सर्वदलीय छलफल भएको उनले बताए ।
बैठकमा प्रदेशसभामा प्रतिनधित्व गर्ने दलहरुको तर्फवाट शुभकामना मन्तव्य राख्ने प्रदेशसभा सदस्यहरुको नामावली सफारिस गरिएको छ । प्रदेशसभा सदस्यहरुले शपथग्रहण गरेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्ने कानूनी प्रक्रिया छ । मधेस प्रदेशसभाले नयाँ सभामुख नपाए सम्म सप्तरी–४ ‘क’ बाट निर्वाचित ज्येष्ठ सदस्य गोवीन्द बहादुर न्यौपानेले प्रदेशसभाको अध्यक्षता गर्नेछन् ।



