एसपी रिपोर्टर
महोतरी, पुष ३ : मधेश प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर भोगेन्द्र झाले सरकारले ल्याएका शिक्षा नीतिहरू स्थानीय तहले कार्यान्वयन गर्न नसकेको टिप्पणी गर्नुभएको छ । बर्दिबासमा आइतबार सेभ द चिल्ड्रेनको सहयोगमा मधेश प्रदेशका सामाजिक विकास मन्त्रालयले गरेको कार्यक्रममा आयोगका उपाध्यक्ष डाक्टर झाले विद्यालय तहमा अध्ययन अध्यापनको अनुगमनलगायत सरकारले लिएका नीतिहरू कार्यान्वयन पक्ष कमजोर रहेको बताउनुभएको हो ।
पालिकाहरूले यसतर्फ विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ । उपाध्यक्ष डाक्टर झाले शिक्षा क्षेत्रका नियमक निकायहरू नै विकृत भएको भन्दै असन्तुष्टि जनाउनुभएको थियो । कार्यक्रममा शिक्षाविद् विद्यानाथ कोइराला विद्यालयमा सिकाइ पद्धति व्यवहारिक हुन नसकेको बताउनुभयो । शिक्षकहरूले बढीभन्दा बढी व्यावहारिक ज्ञान दिनुपर्ने उहाँको भनाइ छ ।
कार्यक्रममा विद्यालय शिक्षा क्षेत्र योजना २०२२–२०३१ को सन्दर्भमा विद्यमान राष्ट्रिय नीति, योजना, कार्यक्रम र शिक्षाको प्राथमिकताबारे छलफल गरिएको थियो । कार्यक्रममा मधेश प्रदेशको प्रारम्भिक बालबालिका रणनीति सार्वजनिक गर्नुका साथै शिक्षाको प्रादेशिक योजना तथा कार्यक्रमहरूका विषयमा चर्चा गरिएको थियो । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईका साथै शिक्षा विद्लगायतको सहभागिता थियो ।