एसपी रिपोर्ट
जनकपृुरधाम, मंसिर २७ गते :
किसान सरकारले तोकेको समर्थन मूल्यमा समेत धान बिक्री गर्न नसकिरहेको समयमा नेपाली कांग्रेस र नेकपा एमालेको किसान संगठन आन्दोलित भएको छ । सरकारले तोकेको धानको समर्थन मूल्यभन्दा कम मूल्यमै धान बिक्री भईरहेको समयमा नेपाल किसान महासंघ र अखिल नेपाल किसान महासंघ संयुक्त रुपमा आन्दोलित भएका हुन् ।

दूबै दलका किसान संगठनले तोकिएको समर्थन मूल्यमै किसानको धान नकिनेसम्म मधेशका विभिन्न जिल्लाको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको कार्यालयमा तालबन्दी गर्न लागेका हुन् ।
आफूहरुको माग सम्बोधन नभएसम्म सो तालाबन्दी जारी नै रह्ने अखिल किसान महासंघका उपमहासचिव बाबुराम थापाले जानकारी दिए । यसअघि दूबै संगठनले संयुक्त रुपमा धर्ना समेत दिएका थिए ।

आफूहरुको मागप्रति सरकार गम्भिर नभए देशैभरीका विभिन्न जिल्ला तथा स्थानीय स्तरमा किसान प्रदर्शन, र्याली तथा सभाहरुको आयोजना गरिने नेपाली कांग्रेस निकट नेपाल किसान महासंघका थायी कमिटी सदस्य केशव चौलागाईले बताए । निर्धारित आन्दोलनको अवधिमा माग सम्बोधन नभए दोस्रो चरणको आन्दोलन गर्न बाध्य हुने उनले चेतावनी समेत दिए ।

यसअघि दूबै संगठनका नेताहरु आन्दोलनको विषयमा नेकपा एमाले धनुषाको कार्यालयमा छलफल समेत गरेका थिए । सो छलफलमा नेपाल किसान महासंघका कोषाध्यक्ष विवेकानन्द झा, अखिल नेपाल किसान महासंघ मधेश प्रदेशका सचिव भोला यादव लगायतको उपस्थिति रहेको थियो ।