एसपी रिपोर्टर
कतार, मसिंर २३ : कतारमा जनकपुरधामका पुर्व मेयर बजरंग प्रसाद साह र जनमत पार्टीका नेता ई. शम्भुनाथ साहलाई सम्मान गरिएको छ । बिश्वकप हेर्न कतार पुगेका जनकपुरधामका पुर्वमेयर बजरंग प्रसाद साहलाई त्यहाँ स्थित गैर आवासीय मधेशी संघले कतारमा स्वागत र सम्मान गरेको छ ।
साथै संघका अन्तराष्ट्रिय अध्यक्ष समेत रहेका ई. साह धनुषा निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधीसभा सदस्यमा उम्मेदवार बनेर सम्मानजनक मत प्राप्त गर्नुका साथै जनमत पार्टी देशकै राष्ट्रिय र लोकप्रिय पार्टी बन्न सफल भएको उपलक्ष्यमा शुभकामना तथा सम्मान कार्यक्रमको आयोजना गरिएको संघ कतारका अध्यक्ष ई. विजय यादवले जानकारी दिएका छन् ।

कार्यक्रममा बोल्दै जनकपुरधामका पुर्व मेयर साहले कतारको चर्को घाममा आएर मेहनत र लगनशिलताका साथ काम गरिरहेका नेपाली युवाहरुको प्रशंसा गर्दै देशको आर्थिक उन्नतीमा योगदानका लागि धन्यवाद ज्ञापन गरेका छन् । जनकपुरधाम, मधेश र देशको विकासका लागि बिदेशमा रहेका युवाहरुलाई सचेत रहन उनले आग्रह गरेका छन् ।
अप्पन टेलिभिजनका अध्यक्ष समेत रहेका साह कतारका युवाहरुले अप्पन टेलिभिजनलाई रुचाएकोमा धन्यवाद ज्ञापन गरेका छन् । जनमतका नेता ई. साहले कतार, मलेशिया सहितका देशहरुमा रहेका मधेशी युवाहरुले मत खसाल्न नसकेपनि निर्वाचनमा भने प्रभावकारी भुमिका सञ्चारकै माध्यमबाट खेलिरहेको कुरा यस पटकको निर्वाचनले प्रष्ट गरेको बताए । उनले सहयोगका लागि धन्यवाद ज्ञापन गरेका छन् ।

ई. साहले जनमत पार्टीको सफलतामा कतार, मलेशिया, सउदी सहितका देशहरुमा श्रम गरिरहेका नेपालीहरुको महत्वपुर्ण योगदान गरेको भन्दै प्रशंसा गरेका छन् । कार्यक्रममा संघका कतार समितिका पदाधिकारी र सदस्यहरु सहितको उपस्थिती थियो ।