एसपी रिपोर्ट
जनकपुरधाम, कार्तिक २८ :

सत्ता गठबन्धनबाट धनुषाको ३(ख)को प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिएका परमेश्वर साहले जनकपुरधामलाई राजधानी बनाउन मुख्यमन्त्री लालबाबु राउतले बार्गेनिंग गरेको खुलाशा गरेका छन् ।
सत्ता गठबन्धनले आयोजना गरेको एक चनावी सभालाई सम्बोधन गर्दै सत्ता गठबन्धनबाट लोसपाको प्रदेशसभाका उम्मेदवार साहले मुख्यमन्त्री राउतले जनकपुरधामलाई राजधानी बनाउन बार्गेनिंग गरेको खुलाशा गरे । उनले पहिलो पटक नाम र राजधानीका प्रस्तावहरु फेल हुँदा प्रदेशसभामा फेरी दोस्रो पटक प्रस्ताव गरिएको र सो प्रस्तावको पक्षमा दुई तिहाई बहुमत पुर्याउनका लागि बार्गेनिंग गरेको बताए । उनले भने ‘जनकपुरधामलाई राजधानी बनाउन जनकपुरधाम विकास प्राधिकरण मात्रै होइन् विरगंज विकास प्राधिकरण समेत हुनुपर्ने शर्त मुख्यमन्त्री राउतले राखेका थिए ।’ अगाडी भने ‘जनकपुर र विरगंज यसै प्रदेशको स्थान रहेकाले आफूहरु दूबै विकास प्राधिकरण गठन गरेर जनकपुरधामलाई राजधानी बनाउन सफल भयौँ ।’
सभालाई सम्बोधन गर्दै उम्मेदवार साहले मुलुकमा संघियता र लोकतन्त्र जोगाउनका लागि सत्ता गठबन्धनको पक्षमा मतदान गर्न अपिल गरे । उनले जनकपुरधामका जनता न्यायप्रेमी, लोकतन्त्र प्रेमी र क्रान्तिकारी रहेकाले यहाँका मतदाता सत्ता गठबन्धनकै पक्षमा मतदान गर्ने विश्वास व्यक्त गरे ।