एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक २७ : सत्ता गठबन्धनबाट धनुषा क्षेत्र नम्बर ३ (ख)का प्रदेशसभा सदस्यका उम्मेदवार हुन् परमेश्वर साह । उनकौ दैनिकी अहिले मतदाताहरुको घर घर पुगेर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का साथै सत्ता गठबन्धनको पक्षमा मत माग्नमै बिति रहेको छ । उनी मधेस प्रदेशको प्रदेशसभाका लोसपाका निवर्तमान प्रदेशसभा सदस्य समेत हुन् ।
मधेश प्रदेशको नामाकरण र मधेश प्रदेशको स्थायी राजधानी कायम गराउन दलहरु बिच सहमति कायम गराउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम सदनमा पहिलो पटक प्रस्ताव हुँदा त्यो प्रस्तावका साथै अन्य प्रस्तावहरु समेत विफल भएका थिए । पछि दोस्रो पटक परमेश्वर साहले प्रस्ताव लगेपछि दलहरुबिच सामञ्जस्यता कायम गराउन भूमिका खेलेका थिए । यसका साथै धनुषा ३(ख)को क्षेत्रको विकासका योजनाहरुमा समेत आफ्नो संसदीय विकास कोषको रकमबाट काम गराएका हुन् ।
आफूले गत ५ वर्षको अवधिमा संघियता संस्थागत गर्नका लागि खेलेको भूमिका तथा यस क्षेत्रको विकासका लागि गरेका कामहरुकै आधारमा जनताको घरैदैलोमा पुगेर मत अपिल गरिरहेको उम्मेदवार साहले बताए । यहाँका मतदातालाई सत्ता गठबन्धनको पक्षमा मत हाल्न उनले आग्रह गरे । संविधान कार्यान्वयनका साथै लोकतन्त्र रक्षाका लागि पनि सत्ता गठबन्धनकै पक्षमा मतदाताले मत हाल्ने उनले विश्वास व्यक्त गरे ।
‘संविधानको रक्षा, संविधान संशोधनमार्फत सबै क्षेत्र, लिङ्ग, वर्ग, धर्म र समुदायको अधिकार स्थापित गर्नका लागि सत्ता गठबन्धनकै नेतृत्वमा सरकार बने सम्भव हुने उनको भनाई थियो । त्यसैले प्रदेश र संघ दूबैमा सत्ता गठबन्धनकोे पक्षमा मत दिनुस भन्दै अपिल गरे ।