एसपी रिपोर्ट
जनकपुरधाम, कार्तिक १७ :
धनुषाको ३ (क) बाट प्रदेश सभा सदस्यका उम्मेदवार डा. प्रसन्न झाले आफ्नो अमूल्य मतको सही सदुपयोग गर्न मतदातालाई आग्रह गरेका छन् ।
मतदाताको एक मतले देश र जनताको भविष्य निर्धारण गर्ने हुँदा आफ्नो मतको सही सदुपयोग गर्न झाले आग्रह गरे । बिहिवार लगमा, नगराई र देवपुरा घरदैलोका लागि पुगेका जनमत पार्टीका उम्मेदवार झाले मतदातासँगको भेटघाटको क्रममा जनताको सुखदुख र पिर मर्का बुझ्ने उम्मेदवारलाई मतदान गर्न सुझाव दिए ।
गलत उम्मेदवारलाई मतदान गरेर पछुताउनुभन्दा बेलैमा सोचेर सही र सक्षम व्यक्तिलाई चुन्नुपर्ने उनको भनाई थियो । आफ्नो क्षेत्रमा निरन्तर रहेर जनताका आवश्यक्ता एवम् समस्याहरुको सम्बोधन गर्न आफू सक्षम रहेको उनले बताए ।
आफुले विकासको खाका र योजना बनाएको बताउँदै उनले त्यसलाई मुर्त रुप दिनका लागि मतदाताले मतदान गरेर सहयोग गर्नुपर्ने बताएका छन् । विकास प्रेमी जनताले आफ्नो काम र आफ्ना योजनाको विश्वास गरेर अवसर दिनेमा झा विश्वस्त छन् ।