एसपी रिपोर्ट
जनकपुरधाम, कर्तिक ९ :
धनुषा ३(ख) बाट प्रदेशसभा सदस्यका उम्मेदवार परमेश्वर साहले जनताले कामको आधारमा मत दिने विश्वास व्यक्त गरेका छन् ।
जनकपुरधामस्थित कपिलेश्वरमा घरदैलोको क्रममा मतदाताहरुसंग मत माग्ने क्रममा उम्मेदवार साहले आफुले गरेका कामहरु बारे यहाँका मतदाता राम्ररी बुझेको र सोही कामको आधारमा आफूलाई मत दिने बताए । साहले भने, ‘यो क्षेत्रमा गरेका काम र उपलब्धीहरु जनता माझ लिएर जाँदैछु जनताले नाम होइन कामलाई मन पराउँछन् ।’
यसका साथै उनले ५ दलिय गठबन्धनका उम्मेदवारलाई जिताउन कुनै कसर बाँकी नराख्ने बताए । सत्ता गठबन्धनका उम्मेदवारलाई अत्याधिक मतले विजयी बनाउन प्रयास गर्न नेता कार्यकर्ताहरुलाई आग्रह समेत गरे । धनुषा ३मा सत्ता गठबन्धनकै उम्मेदवारलाई मतदाताले मन पराई रहेको उनको दावी थियो । घरदैलोको क्रममा उम्मेदवार साहले आफूले ५ वर्षमा गरेका कामहरु गनाउनुका साथै बाँकी योजनाहरुको विषयमा समेत बुझाएका थिए ।