एसपी रिपोर्ट
जनकपुरधाम, कार्तिक ३:
धनुषा क्षेत्र नम्बर ३ (ख)बाट प्रदेश सभा सदस्यका उम्मेदवार परमेश्वर साहको दैनिकी चुनावी व्यस्ततामा अचेल बितिरहेको छ ।
मधेश प्रदेशको प्रदेशसभा सदस्यमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार रहेका साह आफ्नो क्षेत्रका जनताको घरैदैलोमा पुगेर मत अपिल गरिरहेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता समेत रहेका उम्मेदवार साह यसपटक ५ दलीय गठबन्धनको साथ पाएर जित आफ्नो पक्षमा पार्ने दाउमा छन् ।
उनी बिहिबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर वडा नम्बर ३का मतदातासंग भेटघाट गरेका हुन् । नगरभित्र पर्ने यहाँका मतदातालाई सत्ता गठबन्धनको पक्षमा मत हाल्न उनले आग्रह गरे ।
संविधान कार्यान्वयनका साथै लोकतन्त्र रक्षाका लागि पनि सत्ता गठबन्धनकै पक्षमा मतदाताले मत हाल्ने उनले विश्वास व्यक्त गरे । ‘संविधानको रक्षा, संविधान संशोधनमार्फत सबै क्षेत्र, लिङ्ग, वर्ग, धर्म र समुदायको अधिकार स्थापित गर्नका लागि सत्ता गठबन्धनकै नेतृत्वमा सरकार बने सम्भव हुने उनको भनाई थियो । त्यसैले प्रदेश र संघ दूबैमा सत्ता गठबन्धनकोे पक्षमा मत दिनुस भन्दै अपिल गरे ।