एसपी रिपोर्ट
जनकपुरधाम, कार्तिक २ :
सत्ता गठबन्धनबाट धनुषा ३(ख)बाट प्रदेशसभामा उम्मेदवारी दिएका लोसपाका परमेश्वर साहले वर्तमान प्रदेश सरकार विकासको नाममा भ्रष्टाचार मात्रै गरेको आरोप लगाएका छन् । पछिल्लो ५ वर्षमा यो सरकारले भ्रष्टाचार र कार्यकर्ता भर्ती बाहेक केही गर्न नसकेको आरोप लगाए ।
प्रदेश सरकारको नेतृत्व गरिरहेको दल जसपा पदलोलुप्ताका कारण मधेश बिरोधी र नागरिकता विधेयक बिरोधी एमालेसंग गठबन्धन गरेको उनको भनाई थियो । ‘यो गठबन्धन हैन, ठगबन्धन हो, साहले भने ‘हिजोसम्म केपी ओली हत्यारा हो भन्ने पार्टीले मनोनयन गर्नुभन्दा २४ घण्टा अगाडी ओलीसँगै घाँटी मिलाउनुले जनता र देशका लागि नभई आफ्नो कुर्सी र पद जोगाउनकै लागि गठबन्धन गरिएको कुरा जनताले बुझि सकेका छन् ।’ अब पदलोलुप्तामा लागेका नेताहरुलाई मतदाताले मत पक्कै नदिने उनको भनाई थियो ।
घरदैलो कार्यक्रमका लागि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २मा पुगेका उम्मेदवार साहले सत्ता गठबन्धनको सरकार प्रदेशमा बने जनतालाई देखिने गरी विकास हुने प्रतिवद्धता व्यक्त गरे । संविधान संशोधन, मधेशी जनताले पाउन नसकेका अधिकारको प्रत्याभूति गराउनका लागि सत्ता गठबन्धनको पक्षमा मतदान गर्न उनले आग्रह गरे । यसका साथै मधेश र देशकै लागि ठूलो समस्याको रुपमा रहेको नागरिकताको समस्या समाधानका लागि यो गठबन्धनले पहल गर्ने उनको दावी थियो । नागरिकता विधेयकको बिरोधमा लागेको दललाई मतदाताले पक्कै पनि मत नदिने विश्वास व्यक्त गरे ।