एसपी रिपोर्ट
जनकपुरधाम, कार्तिक १ :
सत्ता गठबन्धनबाट धनुषा ३(ख)बाट प्रदेशसभामा उम्मेदवारी दिएका लोसपाका परमेश्वर साहले घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् । मंगलबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १स्थित धर्मवान टोल र पुल्चोक पुगेका साहले गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गरेका छन् ।
संविधान संशोधन, मधेशी जनताले पाउन नसकेका अधिकारको प्रत्याभूति गराउनका लागि लोकतान्त्रिक सरकार बनाउनु आवश्यक रहेको साहले बताए । उनले लोकतान्त्रिक सरकार निर्माणका लागि कांग्रेस नेतृत्वको सत्ता गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गरे । यसका साथै मधेश र देशकै लागि ठूलो समस्याको रुपमा रहेको नागरिकताको समस्या समाधानका लागि यो गठबन्धनले पहल गर्ने उनको दावी थियो । नागरिकता विधेयकको बिरोधमा लागेको दललाई मतदाताले पक्कै पनि मत नदिने विश्वास व्यक्त गरे ।
उम्मेदवार साहले प्रदेशको नामाकरण गर्यो, राजधानी बनायौँ तर संघियता अनुरुप काम अगाडी बढ्न नसकेकाले त्यसका लागि थुप्रै काम गर्नुपर्ने भएकाले आफ्नो पक्षमा मतदान गर्न आग्रह गरे । जनकपुरधामलाई राजधानीको स्वरुपमा ल्याउन र संघियता अनुरुप काम अगाडी बढाउन बाँकी कामहरु आफूहरुले पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे । हाम्रो गठबन्धनको सरकार बनयो भने यहाँका जनताका समस्या समाधान गर्नुका साथै विकास निर्माणका कामहरुलाई समेत गति प्रदान गर्ने स्पष्ट पारे ।