एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २२ : जनकपुरधामस्थित ब्याहुत सेवा समिति कलवार कुट्टीको नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ । ब्याहुत सेवा समिति कलवार कुट्टीको चुनावी प्रक्रियाअन्तर्गत बुधबार उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् ।
उम्मेदवारहरूको अन्तिम नामावली बिहीबार प्रकाशन गरिनेछ । चुनाव यही शनिबार २५ गते हुने निर्वाचन अधिकृत जितेन्द्रप्रसाद साहले जानकारी दिनुभएको छ । कलवार कुट्टी स्वजातिका लागि मात्र नभई समाजका अन्य वर्गको हितमा पनि काम गर्दै आएको उहाँले बताउनुभयो ।
समितिमा हाल ८ सय २ सदस्य छन् । चिर्वाचनबाट समितिका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र चार सदस्य चयन गरिनेछ । नेतृत्व अर्थात अध्यक्षका लागि श्याम प्रसाद साह, रघुनाथ प्रसाद साह र शंकर साह तिनजनाको उम्मेदवारी परेको छ ।महासचिवमा भने रामानन्दचौकका जितेन्द्र कुमार साह निर्विरोध चयन भएका छन् ।