एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १८ : मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले विभिन्न किसिमका आरोह अवरोहका बाबजुद सकेको जति आफूले काम गरेको दाबी गर्नुभएको छ । जनकपुरधाममा शनिबार जनकपुरधाम उद्योग वाणिज्य संघको ५५ औँ वार्षिक साधारण सभामा मुख्यमन्त्री राउतले आफ्नो कार्यकालमा सकेको जति राम्रो काम गरेको बताउनुभएको हो ।
उहाँले जनताको अपेक्षा स्वभाविक रूपमा बढी हुने भन्दै अपेक्षा पूर्ण रूपमा पूरा गर्न नसकेको भए पनि धेरै महत्वपूर्ण कामहरू गरेको बताउनुभयो । मुख्यमन्त्री राउतले कोरोना कालमा सबैभन्दा राम्रो व्यवस्थापन मधेश प्रदेशले गरेको पनि दाबी गर्नुभयो । उहाँले उद्योगी व्यापारीको हितलाई ध्यानमा राख्दै मधेश सरकारले महत्वपूर्ण कामहरू गरेको पनि बताउनुभयो ।
मुख्यमन्त्री राउतले उद्योगी व्यवसायीका लागि लगानीको वातावरण बनाउनुपर्ने र यसका लागि लगानीकर्तालाई लिजमा जमिन उपलब्ध गराउन संघीय सरकार दबाब दिँदै आएको पनि बताउनुभयो । कार्यक्रममा लोसपाका सचेतक परमेश्वर साहले मधेश सरकारले ठूला–ठूला कुरा गरे पनि कार्यान्वयन पक्ष कमजोर रहेको टिप्पणी गर्नुभयो ।
कार्यक्रममा जनकपुरधामका पूर्वमेयर तथा जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बजरंगप्रसाद साहले धनुषाका उद्योगी व्यवसायीका लागि संघले विविध कार्य गर्दै आएको बताउनुभयो । त्यस्तै, जनकपुरधामका मेयर मनोज साहले जनकपुरधामका उद्योग व्यवसायीको हितका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो ।
त्यसैगरी, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले संघले औद्योगिक क्षेत्रमा मात्र नभएर सामाजिक क्षेत्रमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले कोरोना कालमा कुनै संक्रमितको ज्यान जान नदिन आफूहरू अहोरात्र खटेको बताउनुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष दिनेश श्रेष्ठ, महासंघका प्रदेश अध्यक्ष गणेशप्रसाद लाठ, जनकपुरधा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष ललित साह, वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साहलगायतले उद्योगी व्यवसायीले भोग्दै आएका समस्या र यसका समाधानका विषयमा चर्चा गरेका थिए ।
कार्यक्रममा संघले विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मानसमेत गरेको थियो । वरिष्ठ प्राध्यापक, साहित्यकार डाक्टर राजेन्द्र विमल, रामअशिष यादव, नवल पंजियार, पवन सिंहानिया लगायतलाई सम्मान गरिएको थियो ।