एसपी रिपोर्टर
जनकपुरधाम, साउन १८ : जनकपुरधाम स्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले मानसिक रोग उपचार सेवा सुरु गरेको छ । बुधवार मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले मानसिक रोगको अन्तरंग विभाग उद्घाटन गरेका छन् । साथै सोहि अवसरमा मनिपाल स्थित प्रतिष्ठानमा क्यान्सर केयर सेन्टरको समुदघाटन समेत गरिएको छ ।
कार्यक्रममा प्रदेश प्रमुख मिश्रले मधेशमा गुणस्तरीय स्वास्थ्य सेवाका लागि प्रतिष्ठान गर्दै आएको कार्यहरुको प्रशंसा गर्दै मानसिक रोगको उपचार मधेशमै पहिलोे पटक विरामी भर्ना गरि प्रतिष्ठानले सुरु गरेकोमा खुशी व्यक्त गरेका छन् । त्यसै गरि सामाजिक विकासमन्त्री नवलकिशोर साह विभिन्न समस्याको बाबजुत मधेशमा स्वास्थ्य सेवा विस्तारका लागि धेरै काम गरिएको दावी गरेका छन् ।
प्रतिष्ठानका उपकुलपति डाक्टर रामकेवल साहले हृदय रोग, क्यान्सर रोगसहितका जटिल प्रकृतिका रोगहरुको उपचारमा प्रतिष्ठान प्रतिबद्ध रहेको बताए । उनले थप अन्य जटिल प्रकृतिका रोगको उपचार सेवा विस्तारका लागि आफुहरु काम गरिरहेको बताए । कार्यक्रममा क्यान्सर रोगको अवस्था, चुनौती र निदानका विषयमा नेपाल र भारतका विशेषज्ञ चिकित्सकहरुले प्रस्तुती सहित तथ्य पेश गरिएको थियो भने परामर्श समेत भएको थियो ।
कार्यक्रममा क्यान्सर रोगको उपचारका लागि आवश्यक विविध विषयमा चर्चा समेत भएको छ । भारतबाट आएका क्यान्सर केयर भारतका राष्ट्रिय अध्यक्ष डाक्टर जितेन्द्र कुमार सिंहले समेत एक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा सांसद् डाक्टर सुरेन्द्र प्रसाद यादव, प्रतिष्ठानका प्रवक्ता डाक्टर जामुनप्रसाद सिंह, भारतका डाक्टर नवलकिशोर सिंह, डा. विजय कुमार सिंह, प्रतिष्ठानका शिक्षाध्यक्ष डा. अंकुर साह लगायतको सहभागीता थियो ।