एसपी रिपोर्टर
जनकपुरधाम, साउन १५ : भर्खरै प्रकाशित २०७८ सालको एसईई परीक्षाको नतिजामा जनकपुरधामको मोनाष्टिक स्कुलका प्रवेश यादवले मधेश प्रदेश भरिमै सर्वाधिक अंक ल्याएको दावी गरिएको छ । विद्यालयका कक्षा १० का छात्र जनकपुरधाम उपमहानगरपालिका–१३ कर्वड हल बस्ने संतोष यादवका छोरा यादवले यसवर्षको एसईईमा मधेस प्रदेशमै उत्कृष्ट नतिजा ल्याएको विद्यालयले जनाएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार जनकपुरधामस्थित मोनाष्टिक आवासिय माध्यमिक विद्यालयमा अध्ययनरत यादवले ४ जीपीए ल्याएर प्रदेश टप गरेको स्कुलका सञ्चालक डाक्टर सोनु साहले जानकारी दिए । डा. साहले देशभरीमा ४२ जना विद्यार्थीले ४ जीपीए ल्याएकोमा त्यसमध्ये मोनाष्टिकका छात्र प्रवेश पनि एक रहेको बताए ।
र प्रवेशले मधेस प्रदेशभरिमै सर्वोत्कृष्ट नतिजा ल्याएको पनि सञ्चालक साहले बताए । सञ्चालक साहका अनुसार मोनाष्टिक आवासिय माध्यमिक विद्यालयबाट यसवर्ष कूल २१६ छात्र छात्राले एसईईमा सहभागिता जनाएकोमा ३१ जनाले एप्लस, ७१ जनाले ए, ७३ जनाले बि प्लस, ३५ जनाले बि र ६ जनाले सी ग्रेड ल्याएका हुन । त्यस्तै, विद्यालयको तर्फबाट राम्रो अंक ल्याउनेमा प्रियांसु चित्रांशले ३.९० जीपीए, लक्ष्मी कुमारी महतोले ३.८५ र केशव कुमार साहले ३.८५ जीपीए ल्याएका छन् ।