एसपी रिपोर्टर
जनकपुरधाम, साउन १४ :
मधेश प्रदेश सरकारका समाजिक विकास मन्त्री नवल किशोर साहले जातियता भन्दा पनि व्यक्तिगत प्रभाव र सकारात्मक समाजिक लगानीमा सक्रिय हुन आहवान गरेका छन् । जनकपुरधाममा सुडी समाजद्वारा सञ्चालित श्री रामजानकी सुडी कुट्टीको १५ औं साधारणसभालाई सम्बोधन गर्दै मन्त्री साहले जातीयताको मात्र पछाडि परेर केहि नहुने भन्दै अरु जातको पनि मन जित्ने र समाजिक प्रतिष्ठा बनाउने काममा लाग्नु पर्ने बताए ।

उनले अरु जात नभए कमसेकम वैश्य समुदायमा पर्ने कुनै पनि जातसंग बैबाहिक बन्धनका लागि अभियान सुरु हुनपर्ने बताएका छन् । कार्यक्रममा समुदायबाट प्रदेश सांसद, पालिका प्रमुख सहितका जनप्रतिनिधीमा निर्वाचितहरुले पनि समाजिक प्रतिष्ठाका साथै जातिय विकासका लागि पनि सोच्नुपर्ने बताए ।

कार्यक्रममा कुट्टीका प्रमुख संरक्षक समाजसेवी बलराम महतोले कुट्टीमा अत्याधुनिक विवाह स्थल र धर्मशालाका साथै सुन्दर मन्दिरको समेत निर्माणका लागि आफुहरु लागि परेको बताएका थिए । सो अवसरमा कुट्टीका अध्यक्ष रतन पुर्वेले कुट्टीको प्रगती र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साथै कार्यक्रममा समुदायबाट राजतिनिक, व्यवसायीक, पेशागत विभिन्न क्षेत्रमा सफलता पाएकाहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रदेश सांसद सुरिता साह, परमेश्वर साह, जनकपुरधामका प्रमुख मनोज कुमार साह, पुर्व प्रमुख लालकिशोर साह, वृहतर जनकपुरधाम क्षेत्र विकास परिषदका अध्यक्ष शितल साह, जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ सहितको उपस्थिती थियो ।