एसपी रिपोर्टर
जनकपुरधाम, साउन ११ :
जनकपुरधामका उद्योगी व्यवसायीहरुले भुकम्प र कोरोना सहितको विपदाबाट निजि क्षेत्र तथा उद्योग व्यवसाय पिरोलिएको भन्दै सहुलियत श्रृण उपलब्ध नभए उद्योगहरु बन्द गर्ने बताएका छन् ।

देशका रुग्ण उद्योग के कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा आवश्यक अनुगमनका क्रममा जनकपुरधाम स्थित जचुकालीको अनुगमनका लागि आएका नेपाल सरकारका उद्योग बाणिज्य तथा आपुर्ती मन्त्री दिलेन्द्र प्रसाद बडुको स्वागत तथा सम्मानमा जनकपुरधाम उद्योग बाणिज्य संघले गरेको कार्यक्रममा व्यवसायीहरुले आफुहरु गर्नु नमर्नुको अवस्थामा रहेका बताउदै कम्तीमा सहुलियत श्रृणका लागि पहल गरिदिन मन्त्रीलाई आग्रह गरेका छन् ।

सो दु:खेको व्यक्त गर्नेमा महेन्द्रनगर स्थित एभरेष्ट पेपर मिलका सञ्चलाकहरु थिए । व्यपारीहरुले नेपाल सरकारले निजि क्षेत्रलाई प्रतिस्पर्धी भन्दा पनि सरकारकै एक सहयात्रीको रुपमा बुझिदिन सरकारलाई आग्रह गरेका छन् भने तिनै तहको सरकारको उद्योग बाणिज्य बारे निति नआए सम्म उद्योग व्यवसाय भरपर्दो हुन नसक्ने बताएका छन् ।

सो अवसरमा संघका वरिष्ठ उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष मनिष रमण साहले समग्रमा समेटिएका मांगहरु सहितको ज्ञापन पत्र बुझाउदै यस अघिका मन्त्रीहरु जस्तै ज्ञापन पत्र मात्र नबुझेर पहलकदमीका साथ व्यापार क्षेत्रको समस्याको समाधान समेत गरिदिन मन्त्री बडुलाई आग्रह गरेका थिए ।

जवाफमा मन्त्री बडुले नेपाल सरकार आर्थिक मन्दीबाट बच्न उत्पादन, निर्यात, उद्योग र रोजगारका विषयमा गहन रुपमा काम गरिरहेको बताउदै उद्योगी व्यवसायीको समस्या समाधानका लागि प्रतिवद्व रहेको बताए । सो अवसरमा अगामि भदौमा हुने संघको साधारणसभाका लागि मन्त्री बडुलाई प्रमुख अतिथिको आमन्त्रण पत्र समेत प्रदान गरिएको थियो भने सम्मान समेत गरिएको थियो ।