एसपी रिपोर्टर
जनकपुरधाम, साउन ५ : बिहिवार जनकपुरधामका मेयर उपमेयर सहितको समुह नगरको अतिव्यस्त बजार क्षेत्रको सडकमा निक्ले । उद्देश्य थियो जनकपुरधामको ट्राफिक व्यस्थापन । समुहमा धनुषाका प्रहरी प्रमुख एसी वसन्त रजौरे पनि थिए । केहि ट्राफिक सहितका सुरक्षाकर्मीहरु समेत पोशाकमा समुहसंगै देखिएपछि यो के हुन लागेको भन्ने चासो बजार क्षेत्रमा देखियो ।
समुह जता जता जान्थे उतै तिर ट्राफिक जाम भइरहेको देखियो । वृहतर जनकपुरधाम क्षेत्र विकास परिषदका अध्यक्ष शितल साह सहित विभिन्न वडाका वडा अध्यक्ष र कार्यपालिका सदस्यहरु समेतलाई लिएर बजारमा निस्केको समुहका नाइके मेयर मनोज कुमार साहले छ महिना भित्र फोहर र ट्राफिक व्यवस्थापनको च्यापटर क्लोज गर्ने बताए ।
नगर प्रहरी समेत आफनै पोशाकमा थिए । फुटपातका पसलेहरु अव बिजोग हुने भयो भन्ने हिसावले टोलाइरहेका थिए । स्रोतका अनुसार जनकपुरधाम बजार क्षेत्रको फुटपात अतिक्रमण, फुटपात व्यवसाय, पार्किङ्ग सहितका ट्राफिक व्यवस्थापनका लागि समुह बजार क्षेत्रमा डुलेका हुन । बजार क्षेत्रमा सडकका पेटी अतिक्रमण गरेका पसलेहरुलाई जानकारी मुलक प्रचा पम्पलेट समेत बाडिएको छ ।
जानकारी भए अनुसार समुह श्री रामयुवा कमिटिको प्राङ्गणबाट, राममन्दिर, राजदेवी मन्दिर, जानकी मन्दिर हुँदै अस्पताल रोड सहित बाह्विगहाबाट पेठियाबजार हुदै महावीर चौक र पुन: रामचौक पुगेर फुटपात खाली गराउने अभियानको पहिलो चरणमा सचेतना मुलक अवलोकन र प्रचा पम्पलेट बाडिएको छ ।
उपमेयर किशोरी साहले फुटपात हटाउदा कसैको उठिबास नहुने र व्यवसायीहरुको उचित व्यवस्थापनको जिम्मा पनि उपमहानगरपालिकाले लिने बताए ।