एसपी रिपोर्टर
जनकपुरधाम, साउन ४ : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै विद्यार्थी संगठनहरू आन्दोलनमा उत्रिएका छन् । गभर्नर अधिकारीको राजीनामा माग गर्दै संयुक्त विद्यार्थी संगठनले बुधबार नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयसहित देशभरिका कार्यालयमा कालो व्यानर राखेको हो । यसैक्रममा विद्यार्थी नेताहरूले जनकपुरधामस्थित नेपाल राष्ट्र बैंकको क्षेत्रीयमा कालो व्यानर राखेका छन् । उनीहरूले प्रमुख प्रतिपक्षी नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेका अधिकारीले राजीनामा दिनुपर्ने जिकिर गरेका छन् ।
अधिकार नेपाल राष्ट्र बैंक ऐन २०५८ को बर्खिलाप गभर्नरको जिम्मेवारीमा रहेर कानुनी राज्यको धज्जी उडाएको पनि आरोप लगाएका छन । सेयर कारोबार, क्रीप्टो करेन्सी जस्ता विभिन्न विवादमा मुछिएका उनी प्रतिपक्ष दलको सदस्यता लिएर मुलुकको अर्थतन्त्र ध्वस्त पार्न सक्रिय रहेको पनि उनीहरूको आरोप छ । अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु र नेविसंघले संयुक्त रूपमा संघर्ष गर्दै आएका छन् ।