जनकपुरधाम, साउन १:
महोत्तरी पिपरा गाउँपालिकास्थित पिपरा जनता अस्पतालको उद्घाटन गरिएको छ। आइतबार अस्पताल परिसरमा भएका कार्यक्रममा २५ शैयाको यो अस्पतालको उद्घाटन गरिएको हो । कार्यक्रममा सहभागी पूर्वकृषि तथा सहकारी विकासमन्त्री हरिनारायण यादवले स्थानीय तहका अस्पतालहरूबाट गुणस्तरीय सेवा प्रवाह हुनुपर्ने बताउनुभयो । उहाँले स्थानीय तहका अस्पतालहरूको व्यवस्थापन राम्ररी हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा मधेश प्रदेशका पूर्वराज्यन्त्री अभिराम शर्माले अस्पतालहरूको नाम मात्र परिवर्तन गरेर नहुने भन्दै त्यस अनुसारको साधन श्रोत र जनशक्ति पनि आवश्यक रहेको बताउनुभयो । मधेश सरकारले स्वास्थ्य क्षेत्रमा राम्रा कामहरू गर्दै आएको भन्दै अस्पतालको गुणस्तरीय सेवाका लागि प्रदेश सरकारको सहयोग रहने बताउनुभयो ।
त्यस्तै, मधेश प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहले स्थानीय तहमा रहेका अस्पतालसँग मिलेर आफूहरू काम गर्न चाहेको बताउनुभयो ।
त्यसैगरी, पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले यो अस्पतालको सेवा प्रवाहका कुनै कमि कमजोरी नगर्ने प्रतिबद्धता जनाउनुभयो । गाउँमै २५ शैयाको अस्पताल निर्माण भएपछि पिपरावासी हर्षित भएका छन् ।