एसपी रिपोर्टर
जनकपुरधाम, असार ८ : मधेश प्रदेश सरकारले युवा महोत्सवको आयोजना गर्न लागेको छ । बुधबार महिला, बालबालिका युवा तथा खेलकुद मन्त्रालयले पत्रकार सम्मेनल गरी महोत्सवबारे जानकारी दिएको हो । जसअनुसार असार १५ र १६ जनकपुरधाममा युवा महोत्वस हुने छ ।
समुन्नत मधेश प्रदेशका लागि साझा अठोट भन्ने नाराका साथ मधेशमा पहिलो पटक युवा महोत्सव हुन लागेको हो । स्रोत र साधनको पहुँचमा नभएका र मूलधारमा नसमेटिएका मधेश प्रदेशका युवाहरूका सिप र दक्षतालाई परिचित गराउन महोत्सव गर्न लागेको मन्त्री वीरेन्द्र सिंहले बताउनुभयो ।
कार्यक्रममा मन्त्रालय सहसचिव ठूलोबाबु दाहालले युवा महोत्सव कार्यक्रम अन्य प्रदेशका लागि पनि उदाहरण बन्ने बताउनुभयो । महोत्सवका क्रममा विभिन्न क्षेत्रमा ख्याती प्राप्त गरेका युवाहरूले अनुभव आदानप्रदान गर्ने छन् । साथै, महोत्सवपछि घोषणापत्र पनि सार्वजनिक गरिनेछ ।