एसपी रिपोर्टर
जनकपुरधाम, असार ८ :
माटो जोगाऔँ अभियान लिएर तीन हजार पाँच सय किलोमिटर दौड सुरु गरेका पर्वतका नवीन पुन मगर बुधबार जनकपुरधाम आइपुगेका छन् । गत आइतबार काठमाडौंदेखि माटो बचाउ अभियान लिएर दौड सुरु गरेका पुन करिब ४ सय किलो मिटर दौडेर जनकपुरधाम आइपुगेका हुन् ।

पुनसहित यस अभियानका सदस्यलाई जनकपुरधामस्थित मोनास्टिक स्कूलका विद्यार्थीहरूले स्वागत गरेका छन् । जनकपुरधाम आएपछि पुन जानकी मन्दिरको दर्शन गर्न पुगेका थिए । त्यसपछि विद्यार्थीहरूले मोनास्टिक स्कूलदेखि भानुचोकसम्म पुनको समर्थनमा साइकल र्‍याली निकालेका थिए । विद्यायमा भएको कार्यक्रममा उनलाई विद्यार्थीसहितले स्वागत गरेका थिए ।

कार्यक्रममा मधेश प्रदेशका सांसद् रामअशिष यादव, विद्यालयका प्रबन्ध निर्देशक डाक्टर सोनु साहलगायतले माटोको महत्वबारे चर्चा गरेका थिए । संयुक्त राष्ट्र संघको मरुभुमीकरण र खडेरी विरुद्ध संघर्ष अधिवेशन संस्थाका अनुसार हरेक सेकेण्डमा करिब ८ रोपनी जमिन बालुवामा परिणत भइरहेको छ । माटोमा हुने जैविक मात्रा बढाउनुपर्छ भन्ने सन्देशका साथ ३ हजार ५ सय किलोमिटर दौडेर ७७ जिल्लामै पुग्ने पुनको योजना रहेको छ ।