जनकपुरधाम,बैशाख १७:
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–७ मा नेपाली कांग्रेसबाट वडाध्यक्ष पदका लागि उम्मेदवारी दिएका निरज कुमार साह (मुन्ना)ले आफू निर्वाचित भए वडाको चौतर्फि विकासमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आफ्नो १३ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गर्दै निरजले आफू निर्वाचित भए वडाको समग्र विकासमा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाएका हुन् ।
नेपाली कांग्रेसमा बुजुर्गहरु मात्रै हावी रहेको चर्चा रहेपनि आफूले विगतदेखि नै पार्टीका लागि कामहरु गर्दै आएकोले ३४ वर्षकै उमेरमा आफूलाई पार्टीले विश्वास गरेर वडाध्यक्षको टिकट दिएकोमा उनले खुसीसमेत व्यक्त गरे ।
निरजले आफू निर्वाचित हुँदा मिसन र भिजनका साथ वडाको विकास गर्नुका साथै भ्रष्टाचारमुक्त गर्ने, सरकारी विद्यालयलाई उच्च शिक्षास्तरको बनाउने प्रतिबद्धता जनाए ।
उनले वडाभित्रको मठमन्दिर, पोखरी, मस्जीद सौन्दर्यीकरण गर्ने, प्राथमिक स्वास्थ्यचौकी तथा बर्थिङ सेन्टर बनाउन पहल गर्ने, सार्वजनिक जग्गालाई भूमाफियाबाट संरक्षण गर्ने, वडाबासीको एक एक समस्यालाई समाधान गर्ने, लामखुट्टे रहित वडा बनाउनेलगायतका प्रतिबद्धता समेत जनाए ।
निरजले फोहोर व्यवस्थापनका लागि ल्याण्डफिल्ड साइटको व्यवस्थापन गर्न पहल गर्नुका साथै बृद्धभत्ता, एकल महिला भत्ता समयमै उपलब्ध गराउने, जनकपुरधाम उद्योग वाणिज्य संघसँग समन्वय गरेर व्यवसायीलाई तालिम र व्यवसायीक क्षमता अभिवृद्धिका लागि पहल गर्न सदैव कटिबद्ध रहने समेत बताए ।
आफू निर्वाचित भइसकेपछि कम्तीमा आफ्नो वडाभित्र मिथिलाको संस्कृति झल्काउने झिझियालाई प्रोत्साहन गर्नुका साथै सफा, स्वच्छ र सुन्दर वडा बनाउन हरसम्भव प्रयास गर्ने प्रतिबद्धता समेत जनाए ।